भीरमा अड्किएका सुरक्षाकर्मीसहित ८ जनाको उद्धार

बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकास्थित भीरमा अड्किएका सुरक्षाकर्मीसहित आठ जनाको सोमबार सकुशल उद्धार भएको छ।

बाजुरा– उत्तरपूर्वी भेगको स्वामिकार्तिक खापर गाउँपालिकास्थित हाँडे भीरमा अड्किएका आठ जनाको सोमबार सकुशल उद्धार भएको छ। आइतबार भीरबाट लडेर ज्यान गुमाएका व्यक्तिको शव लिन गएका आठ जना कर्णाली नदी किनारमा रोकिएकाका थिए। उनीहरूको सोमबार बिहान सकुशल उद्धार भएको हो।

स्वामिकार्तिक खापर गाउँपालिका–२, फयालका स्थानीय पुसे भण्डारी आइतबार दिउँसो कर्णाली नदीमा माछा मार्न गएका थिए। तर घर फर्कने क्रममा भीरबाट लडेर उनको मृत्यु भएको थियो।

भण्डारीको शव ल्यानका लागि गएका स्थानीयसहित सुरक्षाकर्मी रातभर भीरको फेदी कर्णाली नदीको किनारमा रोकिएका थिए। उनीहरूको सोमबार र्‍याफ्टिङमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

“भीरबाट लडेर मृत्यु भएका भण्डारीको उद्धारमा गएका स्थानीय र प्रहरीको सोमबार बिहान हिमाली गाउँपालिकाको धुलाचौरबाट र्‍याफ्टिङ ल्याएर सकुशल उद्धार गरिएको छ,” जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक देव चौधरीले भने।

उनका अनुसार आइतबार राति भीरबाट लडेर एक जनाको मृत्यु भएको खबर आए पनि राति भइसकेको र भीरबाट शव ल्याएर फर्किन सकिने अवस्था नभएकाले उनीहरू घटनास्थलमै बास बसेको थिए। माछा मार्न गएका बेला भण्डारी हाँडे भीरबाट लडेका थिए। कानूनी प्रक्रिया पूरा गरेर शव आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ।