प्रधानमन्त्री कप क्रिकेट : पुलिस, आर्मी र सुदूरपश्चिम विजयी

प्रधानमन्त्री कपअन्तर्गत सोमबारको खेलमा पुलिस, आर्मी र सुदूरपश्चिम विजयी भएका छन्।

काठमाडौँ– प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबारको खेलमा नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब र सुदूरपश्चिम प्रदेश विजयी भएका छन्।

पुलिस क्लबले लुम्बिनी प्रदेशलाई ८७ रनले पराजित गरेको हो भने आर्मीले बागमती प्रदेशलाई १३४ रनले पराजित गरेको हो। त्यस्तै, सुदूरपश्चिमले गण्डकीलाई ६ विकेटले हराएको हो।

रुपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको पुलिस क्लबले निर्धारित ५० ओभरको खेलमा ६ विकेटको क्षतिमा २४९ रन बनायो। २५० रन बनाउने क्रममा लुम्बिनीको इनिङ्स १६२ रनमा समेटियो।

पुलिसका लागि कुशल भुर्तेल र आरिफ शेखले अर्धशतकीय पारी खेले। भुर्तेलले ७५ बलको सामना गर्ने क्रममा ६ चौका र एक छक्काको मद्दतमा ५९ रन बनाए। यस्तै, शेखले ७९ बल खेल्दै ५६ रन बनाए। यसमा उनको दुई छक्कासमेत सामेल थियो। यसैगरी गुलशन झाले अविजित ३६, दिलीप नाथले ३४ तथा अमित श्रेष्ठले २२ रन बनाए।

बलिङतर्फ लुम्बिनी प्रदेशका लागि कृष्ण कार्की र अजय चौहानले ३/३ विकेट लिए।

यस्तै, लुम्बिनीका लागि १६२ रन बनाउने क्रममा प्रज्ज्वल थापाले अर्द्धशतकीय इनिङ्स खेले। उनले ७२ रन बनाए। थापाले ९४ बलको सामना गर्दै ७ चौका र एक छक्का प्रहार गरे। यस्तै, मृनाल गुरुङले ३० तथा सलाहुद्दिन खानले १३ रन बनाए।

बलिङतर्फ पुलिस क्लबका करण केसीले ३ तथा ललितनारायण राजवंशी र दीपेन्द्रसिंह ऐरीले २/२ विकेट लिए।

आर्मी फराकिलो रन अन्तर
त्यस्तै, रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको आर्मी क्लबले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २६२ रन बनायो। २६३ रनको लक्ष्य पछ्याएको बागमती प्रदेश २७ ओभरमा १२८ रनमा समेटियो। आर्मीका लागि सन्तोष कार्कीले अर्द्धशतकीय इनिङ्स खेले। उनले ९८ बलको सामना गर्दै १० चौका र १ छक्का हान्दै ७६ रन बनाए।

यस्तै, विनोद भण्डारीले ५० बल खेल्ने क्रममा ५ चौका प्रहार गरी अविजित ४७ रन बनाए। तीर्थराज दासले ३६, विवेक यादवले ३० र कुशल मल्लले २६ रन बनाए।

बलिङतर्फ बागमती प्रदेशका लागि प्रतिश जिसी, राजन ढकाल र ईशान पाण्डेले २/२ तथा सोनु देवकोटाले १ विकेट लिए।

बागमती प्रदेशका लागि ब्याटिङ गर्ने क्रममा विवेक मगरले अर्द्धशतकीय इनिङ्स खेले। उनले ५० बलको सामना गर्दै ५ चौका र ३ छक्काको सहयोगमा ५१ रन बनाए। यस्तै, ईशान पाण्डेले १९ र आशुतोष घिरैयाले १० रन बनाए। बलिङतर्फ आर्मीका लागि साहब आलमले ४ तथा आकाश चन्दले ३ विकेट लिए। बागमतीले लगातार दोस्रो खेलमा हार बेहोरेको हो।

किरणको शतकप्रेरित सुदूरपश्चिम
किरण ठगुन्नाको शतकीय इनिङ्सको मद्दतमा सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कपमा गण्डकी प्रदेशलाई पराजित गरेको छ। यसअघि सुदूरपश्चिम पहिलो खेलमा कर्णाली प्रदेशसँग पराजित भएको थियो।

दाङको लमही क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको गण्डकी प्रदेशले निर्धारित ५० ओभरको खेलमा ८ विकेटको क्षतिमा २२० रन बनायो। २२१ रनको विजयी लक्ष्य सुदूरपश्चिमले ४३ ओभरमा चार विकेटको क्षतिमा पूरा गर्‍यो। सुदूरपश्चिमका ठगुन्नाले अविजित १२१ रन बनाए। उनले १०१ बल खेल्दै नौ चौका र ६ छक्का प्रहार गरे। यस्तै, कप्तान नारायण जोशीले अविजित ३८, खड्क बोहराले १९ तथा निश्चल क्षेत्रीले १८ रनको योगदान दिए।

बलिङतर्फ गण्डकीका विपिन खत्री, अमृत गुरुङ, कमल परियार र अर्जुन कुमालले १/१ विकेट लिए।

यसअघि २२० रन बनाउने क्रममा गण्डकीका लागि अर्जुन कुमाल र दीपक डुम्रेले अर्द्धशतकीय इनिङ्स खेले। दीपकले ७४ बल खेल्ने क्रममा ३ चौका र १ छक्का हान्दै ६० रन बनाए। यस्तै, अर्जुनले ९५ बलमा ५७ रनको योगदान दिए। उनले यस क्रममा ४ चौका र १ छक्का प्रहार गरे।

यसैगरी, सुदीप अर्यालले अविजित २३, दिनेश बुढामगरले १५ तथा अमृत गुरुङ र विपिन खत्रीले १०/१० रनको योगदान दिए।

बलिङतर्फ सुदूरपश्चिमका लागि शेर मल्लले ३, नारायण जोशीले २ तथा हेमन्त धामी, मिलन बोहरा र अर्जुन विकले १/१ विकेट लिए। 

आइतबारदेखि शुरू भएको प्रधानमन्त्री कप क्रिकेट सात प्रदेश र तीन विभागीय टोली सहभागी छन्। राउन्ड रोबिनका आधारमा खेलाइने प्रतियोगितामा अंकका आधारमा शीर्ष चार टोली सेमिफाइनल प्रवेश गर्नेछन्। रासस