संविधानविद् भन्छन् – आयोगहरूको औचित्यबारे पुनरवलोकन गर्ने बेला भयो

आयोगमा राजनीतिक नियुक्तिबाहेक सशक्तीकरणका कार्यक्रम नहुँदा लक्षित समुदायका हक अधिकार स्थापित गर्नेक्रमा सामाजिक, शैक्षिक र आर्थिक प्रगति हासिल हुन नसकेको विज्ञहरूको भनाइ छ।

काठमाडौँ– संविधानका जानकारहरूले राष्ट्रिय समावेशीलगायतका आयोग गठनको उद्देश्य र हालसम्म भएका कार्यप्रगतिको समीक्षाको खाँचो औँल्याएका छन्।

राष्ट्रियसभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सोमबारको बैठकमा राष्ट्रिय समावेशी आयोगका पूर्वअध्यक्ष डा रामकृष्ण तिमिल्सिनाले अन्य आयोग स्थापनाको उद्देश्य, हालसम्मको कार्यप्रगति र औचित्यबारे पुनरवलोकन गर्ने बेला भएको बताए।

“राष्ट्रिय समावेशी आयोगलाई शक्तिशाली तुल्याइ अरूलाई त्यस मातहत रहने गरी राखेको खण्डमा खर्च, प्रभावकारिता, औचित्यको पुस्ट्याइँ हुन्छ,” उनले भने।

समावेशी आयोगमा आवश्यक बजेट, कार्यक्रम र विशिष्ट श्रेणीको कर्मचारी व्यवस्थापन गर्न सके यसबाट सरकारलाई फाइदा हुने संविधानविद् तिमिल्सिनाको भनाइ थियो। त्यसो नभए आयोगका पदाधिकारी जिल्ला घुम्ने र बजेट खर्चमै मात्र सीमित हुने उनले बताए।

संविधानमा राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेशी आयोग, थारू आयोग र मुस्लिम आयोगलाई अरू आयोगका रूपमा राखिएको छ।

आयोगमा राजनीतिक नियुक्तिबाहेक सशक्तीकरणका कार्यक्रम नहुँदा लक्षित समुदायका हक अधिकार स्थापित गर्ने सिलसिलामा सामाजिक, शैक्षिक र आर्थिक प्रगति हासिल हुन नसकेको विज्ञहरूको भनाइ थियो।

संविधानविद् काशीराज दाहालले आयोगलाई सिफारिस र सुझावमा मात्र सीमित नतुल्याई आर्थिक, भौतिक र जनशक्तिका हिसाबले सम्पन्न र शक्तिशाली बनाउन आवश्यक रहेको बताए। “कतै हुने खाने वर्गले मात्र सेवा सुविधा लिए कि भन्नेबारे समीक्षा, पुनर्विचार र वर्गीकरण गर्नपर्छ, समावेशीका नाममा तरमारा वर्ग मात्रै आए भन्ने भनाइ छ,” उनले भने।

संविधानसभा सदस्य एवं वरिष्ठ अधिवक्ता रामनारायण विडारीले आयोगले दिने वार्षिक प्रतिवेदन पूर्ण रूपमा अध्ययन, समीक्षा र छलफलको शुरूआत गर्न संसदीय समितिलाई सुझाव दिए। “संसद् र संसदीय समितिले आयोगका वार्षिक प्रतिवेदन अध्ययन र छलफल गर्नुपर्छ। त्यो आजसम्म प्रभावकारी ढंगबाट हुन सकेको छैन। आयोग गठन प्रक्रिया, क्षमता, विज्ञताअनुसार काम भए नभएको जानकारी लिनुपर्छ,” उनले भने।

यसअघि समिति सदस्यहरूले आयोगका गतिविधि र भूमिकाप्रति पदाधिकारी नै सन्तुष्टि नदेखिएको जनाउँदै आयोगलाई कार्यकर्ता भर्ती केन्द्र बनाइनु नहुने धारणा राखे। विगतमा आन्दोलनको व्यवस्थापनको बाटोका रूपमा आयोग गठन गरिएको बताउँदै उनीहरूले असमानता र विभेदका विषयमा उठेका आवाजलाई उचित समाधान र सम्बोधन भए/नभएको समीक्षा जरुरी भएको बताए।

सदस्यहरूले आयोगलाई समावेशी र शक्तिशाली तुल्याउन आवश्यक रहेको सुझाव दिए।