समाचार प्रभाव: पछि हट्यो नगरपालिका, प्लटिङका लागि पुरिएको फन्टेखोलाबाट ह्युमपाइप हटाइँदै

घर–जग्गा कारोबारीको हितमा जग्गा प्लटिङ गर्न खोला नै पुरेको गोदावरी नगरपालिका अन्ततः पछि हटेको छ। तीव्र विरोधपछि फन्टेखोला पुर्न प्रयोग भएका ह्युमपाइप नगरपालिकाकै अग्रसरतामा निकाल्न थालिएको छ।

काठमाडौँ– ललितपुरको गोदावरी नगरपालिका–१० भएर बग्ने फन्टेखोला पुरेर जग्गा प्लटिङ गरिएको, त्यसमा नगरपालिका र जनप्रतिनिधिले नै सघाएकोबारे उकालोले एक वर्षअघि विस्तृत खोजमूलक रिपोर्ट प्रकाशन गरेको थियो। २०८० माघ २८ गते प्रकाशित रिपोर्टले जग्गा प्लटिङ गरेर नाफा कमाउने बिल्डर्सको स्वार्थका लागि स्थानीय सरकार नै कसरी सहयोगी बनिरहेको छ भनेर उजागर गरेको थियो।

यो प्रकरण उजागर भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान शुरू गर्‍यो। खोला नै पुरिएपछि डुबानको समस्या झेल्दै आएका स्थानीयदेखि पानीको प्राकृतिक स्रोत जोगाउनुपर्छ भन्ने अभियन्ता यसलाई रोक्न दबाब दिएर जुटिरहे। यसकै परिणामस्वरूप गोदावरी नगरपालिका र त्यहाँका जनप्रतिनिधि पछि हटेका छन्।

यो प्रकरण उजागर भएको १३ महिनापछि नगरपालिका र जनप्रतिनिधिकै अग्रसरतामा फन्टेखोला पुर्न प्रयोग गरिएका ह्युमपाइप निकाल्न थालिएको छ। “पछिल्लो पाँच दिनयता खोला पुरेर सडक बनाउन प्रयोग भएका ह्युमपाइप निकाल्न थालिएको छ,” गोदावरी नगरपालिका–१० का वडाध्यक्ष शेखर न्यौपानेले उकालोसँग भने।

२०७५ सालदेखि पुर्न थालिएको खोला, बिल्डर्स नै हटाउँदै छन् ह्युमपाइप
फन्टेखोलासँगै जोडिएको जग्गामा प्लटिङ शुरू गरेका बिल्डर्सले २०७५ सालदेखि खोला पुर्न थालेका थिए। बगिरहेको खोलालाई खुम्च्याएर ह्युमपाइप हालेका उनीहरूले त्यसमाथि माटो पटान गरेर फराकिलो सडक बनाएका थिए। यसमा नगरपालिका र जनप्रतिनिधिको प्रष्ट मिलीभगत देखिन्छ। त्यो कसरी भने खोला पुरेर बनाइएको यो त्यही सडक हो जो गोदावरी नगरपालिकाको २०७९ सालमा शुरू भएको सडक स्तरोन्नति कार्यक्रमअन्तर्गत वडा नम्बर १३ को झरुवाराशीदेखि वडा नम्बर १० को टाखेलस्थित न्यौपाने गाउँ जाने सडकमा जोडिन्छ। त्यही सडक बिस्तार गर्ने नगरपालिकाको कार्यक्रमसँगै जोडेर बिल्डर्सले फन्टेखोलालाई फन्दामा पारेका थिए।

“खोला पुरेर सडक नबनाइएको भए बिल्डर्सले आफ्नै जग्गाबाट सडक निकाल्नुपर्थ्यो। त्यसो गर्दा चार/पाँच रोपनी जग्गा नै सडकमा जान्थ्यो। यही बुझेर बिल्डर्सले नगरपालिकासँगको मिलेमतोमा खोला पुरेका हुन्,” एक स्थानीयले भने।

फन्टेखोलासँगै जोडिएको करिब १२५ रोपनी जग्गा कन्टिनेन्टल डेभलपर्स प्रालिले प्लटिङ गरिरहेको छ। कन्टिनेन्टल डेभलपर्स नेपालमा किया कम्पनीका गाडी आयात गर्ने आधिकारिक बिक्रेता ‘किया मोटर्स’का सञ्चालकहरूको कम्पनी हो। खोलाछेउमै अर्को प्लटिङ पनि चलिरहेको छ। त्यसमा भने शुभकामना ल्यान्ड एन्ड हाउजिङ प्रालि संलग्न छ। शुभकामनाले ५.५ रोपनी जग्गामा प्लटिङ गरिरहेको छ।

यिनै दुई बिल्डर्स कम्पनीले प्लटिङ गर्नुअघि त्यहाँ बीचबाट फन्टेखोला निर्बाध बगिरहेको थियो। तर प्लटिङका क्रममा खोलामाथि ह्युमपाइप बिछ्याएर सडक बनाउन थालियो। अनि हेर्दाहेर्दै करिब ३०० मिटरमा खोला नै हरायो। अर्थात् त्यो ह्युमपाइप र त्यसमाथि बनाइएको सडकको चेपमा पर्‍यो।

फन्टेखोला बग्ने यो क्षेत्रको करिब ३०० मिटरसम्म अहिले खोला होइन, ३४ फिट चौडा सडक अस्तित्वमा देखिन्छ। यहाँका स्थानीयलाई आफ्नै घरअगाडि फराकिलो सडक बनाइदिएर जग्गाको मूल्य पनि बढाइदिने प्रलोभन देखाउने तथा नमान्नेलाई धम्क्याएरै भए पनि खोला पुर्ने काम बिल्डर्सले स्थानीय सरकार अर्थात् गोदावरी नगरपालिकासँगै मिलेर गरेको देखिन्छ।

यसरी खोला पुरेर बनाइएको सडकमा करिब २० फिट गहिरोसम्म ह्युमपाइप बिछ्याइएका थिए। वडाध्यक्ष न्यौपानेले त्यसरी बिछ्याइएका ह्युमपाइप पूर्ण रूपमा निकालेर हटाउन अझै डेढ साताजति लाग्ने बताए। “अहिलेसम्म जे भए पनि अब फन्टेखोलालाई निर्बाध रूपमा बग्न दिइनेछ। खोलाको मापदण्ड पालना गरी सोही अनुरूप कन्टिनेन्टल डेभलपर्स र शुभकामना ल्यान्ड एन्ड हाउजिङ प्रालिले पनि आफ्नो साँधसीमाना तोकी पर्खाल लगाउने छन्,” उनले भने।

खोला पुर्न प्रयोग भएका ह्युमपाइप त्यहाँबाट निकाल्न अहिले शुभकामना ल्यान्ड एन्ड हाउजिङ प्रालिले अगुवाइ गरिरहेको छ। अगाडि शुभकामना ल्यान्ड एन्ड हाउजिङ प्रालि मात्र देखिए पनि यसपछाडि कन्टिनेन्टल डेभलपर्स र गोदावरी नगरपालिका पनि छन्। तर कन्टिनेन्टल ह्युमपाइप हटाउन प्रत्यक्ष लागिपरेको देखिँदैन। यसको कारण के भने कन्टिनेन्टल डेभलपर्सले पहिल्यैदेखि यसमा आफ्नो संलग्नता नरहेको दाबी गर्दै आएको थियो।

यो पनि – गोदावरीको फन्टेखोला प्लटिङ प्रकरण : छानबिनबाट पन्छिँदै नगरपालिका, गुनासो गर्ने स्थानीयलाई हप्कीदप्की

वडाध्यक्ष न्यौपानेले खोला पुर्ने जग्गाधनी (जग्गा कारोबारी) को नाम लिएरै भने, “हामीसँग दुइटा मात्र विकल्प थियो– कि त्यही जग्गावालाबाट ह्युमपाइप निकाल्न लगाउने, कि हामीले पैसा खर्च गरेर ह्युमपाइप निकाल्ने।”

आफू यसबारे बेखबर रहेको बताएर पन्छिँदै आएको गोदावरी नगरपालिका पनि ह्युमपाइप हटाउने सवालमा भने प्रत्यक्ष देखिँदैन। तर वडाध्यक्ष न्यौपानेले २०७५ सालमा खोला पुर्न शुरू गर्दा नगरपालिकासँग कुनै औपचारिक सहमति नभएकाले ह्युमपाइप निकाल्न नगरपालिकाले बजेट खर्च गर्ने आधार नभएको हुँदा जसको जग्गा प्लटिङ भइरहेको हो, उसलाई नै ह्युमपाइप निकाल्न लगाइएको बताए। 

उनले यस्तो भने पनि खोला पुरेर सडक बनाउने काममा नगरपालिकाले चलाखीपूर्ण सम्झौता गरेको पत्र उकालोले यसअघि नै उजागर गरेको थियो। अर्थात् खोला पुर्नेदेखि अहिले खोला पुर्न प्रयोग भएका ह्युमपाइप हटाउनेसम्मको काममा नगरपालिका चलाखीपूर्ण रूपमा काम गरिरहेको देखिन्छ।

फन्टेखोला कसरी पुरियो भन्नेबारे रिपोर्टिङ गर्ने क्रममा भेटिएका शुभकामना ल्यान्ड एन्ड हाउजिङका प्रतिनिधि राजन तिमिल्सिनाले कन्टिनेन्टल डेभलपर्स र आफ्नो कम्पनीले मिलेर ‘खोल्सा टालेको’ दाबी गरेका थिए। तत्कालीन समयमा बाटो बनिसकेपछि बीचमा सवारीसाधनको आवतजावत सहज हुने गरी छेउछेउमा रूख रोपेर बगैँचासमेत बनाउने योजना बनाइएको जिकिर उनले गरेका थिए। 

यो पनि – बगिरहेको खोला पुरेर व्यापारिक घरानाको जग्गा ‘प्लटिङ’, स्थानीय सरकार नै सहयोगी

अहिले भने उनले स्थानीय नै ह्युमपाइप निकाल्न लागिपरेको दाबी गरे। “किया (कन्टिनेन्टल डेभलपर्स)ले माटो मात्र पुरिदिएको हो। त्यो बेलामा जग्गावालासहित स्थानीय नै पाइप बिछ्याउन लागेका थिए, अहिले पनि उनीहरूले नै अगुवाइ गरेका छन्,” उनले भने, “ह्युमपाइप निकाल्ने निर्णय महिना दिनअघि भए पनि व्यावहारिक व्यवस्थापनको कारण बल्ल निकाल्न थालिएको हो।”

अझै ढुक्क छैनन् स्थानीय
फन्टेखोला नै पुरेर जग्गा प्लटिङ गरिएको प्रकरण उकालोले उजागर गरेको भोलिपल्ट, २०८० माघ २९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोदावरी नगरपालिकालाई पत्र काटेर खोलाको जग्गा अतिक्रमण भए/नभएको विस्तृत विवरण माग गरेको थियो। त्यसको जवाफ पठाउँदै नगरपालिकाले ‘खोला नभई खोल्सा भएको’ दाबी गरेर अख्तियारलाई नै गुमराहमा राखेको थियो। जबकि, खोला पुरिएसँगै पछिल्ला वर्षायाममा राजेश श्रेष्ठ, सन्देश देशार लगायतका खोला आसपासका जग्गाधनीका घर तथा खेती डुबानमा पर्दै आएका थिए।  

नगरपालिकाले अख्तियारलाई पठाएको पत्रमा ‘स्थानीयको सुविधाका लागि खोलामाथि बाटो बनाएको’ जिकिर गर्दै ‘यदि स्थानीयलाई असहज भए पुनः ह्युमपाइप निकाल्ने’ उल्लेख गरेको थियो। स्थानीयले यही विषय लगातार उठाएपछि ह्युमपाइप निकाल्ने निर्णय भएको वडाध्यक्ष न्यौपानेले उकालोलाई बताए।

“हामीलाई स्थानीयबाट पनि दबाब आयो। अर्को, त्यहाँबाट निकाल्नुपर्ने बाटो पनि विवादमा परेपछि त्यसलाई क्लियर गर्न पालिकास्तरबाट निर्णय भएपछि ह्युमपाइप निकाल्न थालिएको हो,” उनले भने।

खोला पुर्ने कार्यको विरोधमा शुरूदेखि लागिपरेका स्थानीय बाबुलाल लोप्चनले नगरपालिकाको यो निर्णयलाई सकारात्मक रूपमा लिएका छन्। तर शंका गर्ने ठाउँ भने अझ पनि थुप्रै रहेको उनले बताए।

“ह्युमपाइप निकालेपछि दुई ठाउँबाट खोलाको बाटो छाडेर पर्खाल लगाउने, अनि बाटो निकाल्ने भनिएको छ,” उनले भने, “यस्तोमा खोलाको वास्तविक आकारमा चलखेल हुनसक्छ।” 

वडाध्यक्ष न्यौपानेकै भनाइले यसमा थप शंका बढाएको छ। उनले पूर्ववत् योजनाअनुसार खोलालाई ६ फिटको चौडाइमा छाडेर दुईतर्फ साँधसीमानाबाट बाटो निकालिने बताएका छन्। जबकि २०२२ सालको नक्सामै यो खोला १४ फिट चौडाइको रहेको देखिन्छ। यहीकारण पनि स्थानीयमा नगरपालिका र प्लटिङ गरिरहेका जग्गाधनीले फन्टेखोला पूर्ण रूपमा छाड्छन् कि छाड्दैनन् भन्ने अन्योल देखिन्छ।