टी२० शृंखलामा नेपाल हङकङसँग २ रनले पराजित

महिला टी२० शृंखलाअन्तर्गत सोमबारको खेलमा नेपाल हङकङसँग २ रनले पराजित भएको छ।

काठमाडौँ– चारदेशीय महिला टी२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेपाल हङकङसँग पराजित भएको छ। युगान्डामा सोमबार भएको खेलमा नेपाल हङकङसँग २ रनले पराजित भएको हो।

जारी शृंखलामा हङकङको यो दोस्रो जित हो भने नेपालको दोस्रो पराजय। नेपाल यसअघि पहिलो खेलमा नामिबियासँग पराजित भएको थियो। दोस्रो खेलमा भने नेपालले घरेलु टोली युगान्डालाई १ विकेटले पराजित गरेको थियो।

हङकङ पहिलो खेलमा युगान्डासँग पराजित भएको थियो। दोस्रो खेलमा भने हङकङले नामिबियालाई पराजित गरेको थियो।

सोमबारको खेलमा हङकङले दिएको १०१ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले पूरै २० ओभर खेल्दै ७ विकेट गुमाएर ९८ रन मात्र बनाउन सक्यो। 

नेपाललाई जितका लागि अन्तिम ओभरमा १० रन आवश्यक थियो। तर नेपालले ७ रन मात्र जोड्न सक्दा पराजय बेहोर्न बाध्य भयो।

नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ३२ रन जोडिन्। त्यस्तै, पूजा महतोले १९, बिन्दु रावलले १४ र सना प्रवीनले १० रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रनको योगफल बनाउन सकेनन्।

बलिङतर्फ हङकङका लागि मारिको हिलले २ विकेट लिँदा सिउ मे वाइ र चान या किनका नाममा समान १-१ विकेट रह्यो।

यसअघि युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १०० रन बनायो।

हङकङका लागि नताशा मिल्सले सर्वाधिक ३५ रन जोडिन्। त्यस्तै, मारिको हिल्सले २१ तथा यश्मिन दासवनीले अविजित ११ रन बनाए।

नेपालका लागि कप्तान इन्दु बर्मा र ईश्वरी विष्टले समान २/२ तथा पूजा महतो र रचनाकुमारी चौधरीले समान १/१ विकेट लिए।