सिमसार क्षेत्रको अतिक्रमणले जोखिममा कछुवा

नेपालमा कछुवाका १७ प्रजाति र दुई उपप्रजाति फेला परेका छन्। तीमध्ये १३ वटा कडा हाड र चार प्रजातिको नरम खपटा भएका छन्। 

बेलबारी– सिमसार क्षेत्रको अतिक्रमणले कछुवा उच्च जोखिममा परेका छन्। आहारा तथा उपयुक्त बासस्थानको उपलब्धता कम हुँदा यस्ता प्रजातिको संख्या घट्न सक्ने अनुसन्धानकर्ताले जनाएका छन्।  

मोरङको बेलबारीस्थित बेतना सिमसारमा दुई वर्षअघि संकटापन्न सूचीमा रहेको ‘ब्लाक सफ्टसेल’ नामक कछुवा दुई दर्जनभन्दा बढीको संख्यामा रहेको वैज्ञानिकको टोलीले पत्ता लगाएको थियो। हालसम्म नेपालमा कछुवाका १७ प्रजाति र दुई उपप्रजाति फेला परेका छन्। तीमध्ये १३ वटा कडा हाड र चार प्रजातिको नरम खपटा भएका छन्। 

सिमसारमा रहने कछुवा संरक्षणमा कम महत्त्व दिँदा कछुवा जोखिममा पर्न सक्ने सम्भावना बढ्दै गएको  प्राणीशास्त्रका उपप्राध्यापक रामचन्द्र अधिकारीले बताए। विगतका वर्षहरूमा प्रशस्त मात्रामा सिमसारमा देखिने कछुवा, पछिल्ला वर्षहरूमा देख्न कम हुँदै गएको बेलबारी–११ का राजन पोख्रेल बताए। 

राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत गोविन्दप्रसाद पोख्रेलले मोरङका सिमसारमा गरेको एक अध्ययनले सिमसारमा कंक्रिटको प्रयोगले गर्दा कछुवालगायत प्रजातिलाई नदी किनारमा आउने तथा फुल पार्नेजस्ता काममा असर गर्न सक्ने उल्लेख छ। मोरङमा करिब एक दशकदेखि सिमसार संरक्षणमा लाग्दै आएका अनुसन्धानकर्ता पोखरेलले हालसम्म एक दर्जनभन्दा बढी कछुवाको उद्धार गरेर विभिन्न सिमसार क्षेत्रमा छाडेको जानकारी पनि दिए। 

कछुवाको ‘अण्डा’बाट भाले वा पोथीको सवालमा तापक्रमले निर्धारण गर्छ। औषत तापक्रमभन्दा केही बढी हुँदा पोथी र कम तापक्रम हुँदा भाले निस्किने गर्छ।  त्यसैले जलवायु परिवर्तनका कारण हुने तापमान वृद्धिका कारण यो प्रजातिको पनि स्वाभाविक रूपमा नै असर गर्न सक्ने उनले बताए। यही प्रजातिको प्रजननमा जलवायु परिवर्तनका कारण के–कस्तो असर पार्छ भनेर अध्ययन नभए पनि जलवायु परिवर्तनका कारण पारस्थितिकीय प्रणालीको ह्रास आउने तथा प्रजातिहरूलाई नकारात्मक असर गर्ने पोख्रेलको भनाइ छ। 

धेरै प्रजातिका कछुवाहरू सिमसारमा आश्रित हुन्छन्। नेपालमा  पाइने कछुवामध्ये इलंगेटेट टर्टाेइस (लाम्चे कछुवा, ठोटरी) र तीन धर्के कछुवा (ट्राइक्यारिनेटा)मात्र जमिनमा पाइने पोख्रेलको भनाइ छ। मानवीय अतिक्रमण, वन फडानी तथा डढेलोका कारण यस्ता प्रजाति संकटमा परेका हुन्। वन फडानी, आगलागी, सहरीकरण, पानीको स्रोतमा ह्रास, वन क्षेत्रमा विषादी फ्याँक्ने गतिविधि, सिकार गर्ने तथा घरमा पाल्नेजस्ता क्रियाकलापले यो प्रजाति झन् संकटमा पर्ने उनले बताए।