सांसद भन्छन्– व्यवस्थाविरोधी आवाज उठ्नुमा सरकारको कार्यशैली जिम्मेवार

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको विरोधमा आवाज उठ्नुका पछाडि यसअघि र हालका सरकारको कमजोर कार्यशैली जिम्मेवार रहेको सांसदहरूको धारणा छ।

काठमाडौँ– विद्यमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको विरोधमा आवाज उठ्नुका पछाडि यसअघि र हालका सरकारको कमजोर कार्यशैली जिम्मेवार रहेको सांसदहरूको धारणा छ।

मंगलबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै विभिन्न दलका सांसदहरूले वर्तमान सरकारको कार्यशैली, शासन व्यवस्थामा देखापरेका चुनौती र संविधानको रक्षा तथा पुनरवलोकनसम्बन्धी विषयमा आफ्ना धारणा राखेका हुन्। सो क्रममा उनीहरूले व्यवस्थाविरोधी शक्ति सल्बलाउनुमा सरकारको अक्षमता जिम्मेवार रहेको तर्क गरे।

नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्रप्रसाद पाण्डेले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै राजावादी शक्ति मौलाउने अवस्था सिर्जना हुनुमा सरकारको कमजोरी रहेको बताए। उनले संघीय लोकतान्त्रिक गणतन्त्र कुनै व्यक्ति विशेषको बक्सिस नभई, नेपाली जनताले रगत साटेर प्राप्त गरेको उपलब्धि भएको स्पष्ट पारे। उनले सुशासनको अभाव, संस्थागत भ्रष्टाचार र प्रशासनिक पक्षपातका कारण जनतामा वर्तमान व्यवस्थाप्रति निराशा बढ्दै गएको उल्लेख गरे।

जनता समाजवादी पार्टीकी सांसद रञ्जुकुमारी झाले नेपाली जनताकै अभिमतबाट वर्तमान संविधान निर्माण भएको उल्लेख गर्दै यसको संरक्षणका लागि सबै लोकतान्त्रिक शक्ति जुट्नुपर्ने धारणा राखिन्। उनले विद्यमान प्रणाली आफैँमा दोषी नभएको तर यसलाई सञ्चालन गर्ने व्यक्ति जिम्मेवार नहुँदा प्रश्न उठ्ने बताइन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले नागरिकले पूर्वराजाको पक्षमा आवाज उठाइरहेको र अहिलेको स्थितिले सरकारको असक्षमता उजागर गरिरहेको बताए।