लागुऔषध मुद्दाका प्रतिवादी गोकर्णेश्वरबाट पेस्तोलसहित पक्राउ

प्रहरीले लागुऔषध मुद्दाका प्रतिवादीलाई काठमाडौँको गोकर्णेश्वरबाट पेस्तोल र लागुऔषधसहित पक्राउ गरेको छ।

काठमाडौँ– अभद्र व्यवहार तथा लागुऔषध मुद्दाका प्रतिवादी पेस्तोल र लागुऔषधसहित काठमाडौँको गोकर्णेश्वरबाट पक्राउ परेका छन्।

गोकर्णेश्वर नगरपालिका–२ भाडगाउँ बस्ने ३३ वर्षीय सुदन जोशीलाई प्रहरीले एक थान पेस्तोलसहित पक्राउ गरेको हो। उनको कोठाबाट पेस्तोलमा लाग्ने दुई थान म्यागजिन, १० राउन्ड गोली, २५० ग्राम लागुऔषध पोल्यान्ड र ट्रामाडोल ५०० चक्की बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। 

जोशीले कोठामा अवैध हातहतियार लुकाई राखेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा ती वस्तु बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए। प्रहरीले जोशीलाई बरामद हतियार र लागुऔषधसहित मंगलबार सार्वजनिक गरेको हो। 

उनलाई काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान गरिरहेको छ। जोशीविरुद्ध २०६१, २०६७ र २०६८ सालमा अभद्र व्यवहार कसुर तथा २०६८ र २०७४ सालमा लागुऔषध कसुरमा मुद्दा दर्ता भई अनुसन्धान भएको पनि उनले जानकारी दिए।