रेलका बन्धक मुक्त गर्न पाकिस्तानको ‘पूर्ण–स्तर’को अपरेसन

दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा मंगलबार दिउँसो विद्रोहीहरूले रेलमा आक्रमण गरेका थिए। सो क्रममा उनीहरूले रेलमार्गको एक भागमा बम विस्फोट गराएका थिए।

तस्वीर: रोयटर्स

पाकिस्तानी सुरक्षा बलले दक्षिणपश्चिममा विद्रोहीहरूद्वारा बन्धक बनाइएका रेल यात्रुलाई बचाउन ‘पूर्ण–स्तर’ को अपरेसन शुरू गरेको छ।

घेराबन्दी गरिएको रेलबाट दुई दिनको अवधिमा पाकिस्तानी सेनाले १५५ जना बन्धकलाई मुक्त गर्न सफल भएको छ। अझै पनि रेलमा कति यात्रु छन् भन्ने यकिन हुन सकेको छैन। 

दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा मंगलबार दिउँसो विद्रोहीहरूले रेलमा आक्रमण गरेका थिए। सो क्रममा उनीहरूले रेलमार्गको एक भागमा बम विस्फोट गराएका थिए। बलुचिस्तानमा पछिल्लो समय पृथकतावादीको आक्रमण बढेको छ ।

सुरक्षा स्रोतहरूका अनुसार, आतंकवादीहरूले आत्मघाती बम हमलाकारीलाई निर्दोष बन्धक यात्रुहरूको नजिकै तैनाथ गरेका छन्। दुर्गम पहाडी जिल्लामा घेराबन्दीको क्रममा रेल चालकसहित तीन जनाको मृत्यु भएको छ।

एक सुरक्षा अधिकारीले पूर्ण–स्तरको अपरेसनले बाँकी बन्दीहरूलाई मुक्त गर्ने लक्ष्य राखेको समाचार संस्था एएफपीसँग बताएका छन्। “सुरक्षा बलले १५५ यात्रुलाई सुरक्षित रूपमा उद्धार गरेको छ। २७ जना आतंककारी मारिएका छन्,” सुरक्षा स्रोतले भन्यो। 

अफगानिस्तान र इरानको सिमानामा रहेको प्रान्तमा बढ्दो हिंसाको पछाडि रहेको पृथकतावादी समूह ब्लूच लिबरेसन आर्मी (बीएलए) ले तुरुन्तै आक्रमणको दाबी गरेको थियो। प्रान्तीय राजधानी क्वेटामा एक वरिष्ठ रेलवे सरकारी अधिकारी मुहम्मद काशिफका अनुसार ४५० भन्दा बढी यात्रुलाई बन्धक बनाइएको थियो ।

मुक्त भएका बन्धकहरूले सुरक्षित रूपमा पुग्नका लागि पहाडी इलाकामा घण्टौँसम्म हिँडेको बताएका छन्। “हामी कसरी भाग्न सफल भयौँ भन्ने वर्णन गर्न मसँग शब्द छैन। यो भयानक थियो,” आफ्नी आमासँग यात्रा गरिरहेका मुहम्मद बिलालले भने। 

मेडिकल कर्मचारी नजिम फारुक र रेलवे अधिकारी मुहम्मद अस्लमका अनुसार आक्रमणमा रेलका चालक, एक प्रहरी अधिकारी र एक सैनिकको मृत्यु भएको थियो।