मूलपानीमा करेन्ट लागेर टिपरका सहचालकको मृत्यु

कागेश्वरी मनोहरा नगरपालिका–७ मूलपानीमा करेन्ट लागेर गए राति टिपरका सहचालकको मृत्यु भएको छ।

प्रतीकात्मक तस्वीर

काठमाडौँ– कागेश्वरी मनोहरा नगरपालिका–७ मूलपानीमा करेन्ट लागेर गए राति टिपरका सहचालकको मृत्यु भएको छ।

मूलपानीबाट अमरसिंह थापा चोक जाने सडकमा बा प्र ०३–००१ ख १३३८ नम्बरको टिपरबाट बालुवा खन्याउने क्रममा बिजुलीको खम्बाको तार सर्ट भई करेन्ट लागेर गम्भीर घाइते भएका सहचालक १५ वर्षीय सुमन खड्काको उपचारका लागि लैजाने क्रममा मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

रामेछापको मन्थली नगरपालिका–७ का खड्कालाई उपचारका लागि शङ्खरापुर अस्पताल नारायणटारतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका–१६ बालाजु वसन्तनगर गुम्बा नजिक एक व्यक्ति मृत फेला परेका छन्। नुवाकोटको ढिकुरे घर बताउने अन्दाजी ३६ वर्षीय नरेन्द्र बानियाँ आज मृत फेला परेका हुन्।

यस्तै, ललितपुर महानगरपालिका–२ सानेपा करिडोरस्थित बिना पाण्डेको राजअटो इलेक्ट्रोनिक वर्कसपमा विद्युत् सर्ट भई आज बिहान आगलागी भएको छ। सो आगलागीबाट वर्कसपसँगै जोडिएको पसल र खाजा घरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ।

आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको छ। स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।