नामिबियासँग नेपाल २३ रनले पराजित

महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत बुधबार खेलेको आफ्नो चाैथो खेलमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको छ।

काठमाडाैँ– महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत बुधबार खेलेको आफ्नो चाैथो खेलमा नामिबियासँग २३ रनले पराजित भएको छ।

युगान्डाको एन्टेबे क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै नेपाललाई १२६ रनको लक्ष्य दिएको थियो। नेपालले पाँच विकेटको क्षतिमा १०२ रन मात्र बनाउन सक्यो। नेपालका लागि साना प्रवीनले सर्वाधिक ३१ रन बनाइन्। यस्तै, कविता जोशीले १७ र पूजा महतोले १५ रन जोडे।

नामिबियाका लागि यास्मिन खानले ४४ बलमा पाँच चौकाको सहायताले ४५ रन बनाइन्। विल्का म्वाटिलले २०, अर्रास्टा डियर्गार्डले १६ तथा कप्तान सुने विटम्यानले १५ रन जोडे।

नेपालका लागि ईश्वरी विष्टले सर्वाधिक तीन विकेट लिँदा रचनाकुमारी चौधरीले दुई तथा रिया शर्मा र इन्दु बर्माले समान एक/एक  विकेट लिएका थिए।

प्रतियोगितामा यसअघि नेपाल आफ्नो पहिलो खेलमा नामिबियासँग ६ विकेटले पराजित भएको थियो। त्यस्तै दोस्रो खेल भने नेपालले घरेलु टोली युगान्डालाई एक विकेटले पराजित गरेको थियो भने तेस्रो खेलमा हङकङसँग दुई रनले पराजित भएको थियो।