प्रधानमन्त्री कप : एपीएफ २ विकेटले विजयी

प्रधानमन्त्री कपअन्तर्गत बिहीबारको खेलमा कमलसिंह ऐरीको अलराउन्ड‍र प्रदर्शनमा एपीएफले मधेश प्रदेशलाई २ विकेटले पराजित गरेको छ।

दाङ– लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी नेपाल टेलिकम प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा मधेश प्रदेशमाथि विभागीय टोली एपीएफ क्लब विजयी भएको छ।

बिहीबार भएको खेलमा कमलसिंह ऐरीको अलराउन्ड‍र प्रदर्शनमा एपीएफले मधेश प्रदेशलाई २ विकेटले पराजित गरेको हो। 

मधेश प्रदेशले दिएको १६९ रनको लक्ष्य एपीएफले ३६.५ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्‍यो। ऐरीले ३ छक्काको सहयोगमा अविजित २८ रन बनाए। सामान्य लक्ष्य पछ्याउने क्रममा सुमित महर्जन ३५ रनमा पेभेलियन फर्किएपछि केही दबाबमा परेको एपीएफलाई कमलसिंह ऐरीले उत्कृष्ट खेल्दै जित दिलाए।

मधेश प्रदेशका कमल गुप्ताले १० ओभरमा १ मेडनसहित ४० रन खर्चेर ४ विकेट लिए। प्रदीप पासवानले १ मेडनसहित २८ रन दिएर २ विकेट लिए। रुपेश सिंह र हरिशंकर शाहले १–१ विकेट लिए।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको मधेश प्रदेशले निर्धारित ५० ओभरको खेलमा ४० दशमलव ४ आभेरमा सबै विकेट गुमाउँदै १६८ रन बनाएको थियो। मधेशका कप्तान अनिलकुमार साह र मयन यादवले ३१ रन बनाएर खेलिरहेको बेला भुवन कार्कीको बलिङमा यादव बोल्ड आउट भएपछि मधेशको विकेट पतन शुरू भएको थियो।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजना, प्रदेश क्रिकेट संघको समन्वय तथा दाङ क्रिकेट संघको व्यवस्थापनमा जारी प्रतियोगितामा ३ विभागीयसहित सात प्रदेशका टिम सहभागी छन्।

दाङसहित रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशाला र एक्स्ट्राटेक ओभल मैदानमा एकैसाथ शुरू भएको प्रतियोगिताका खेलहरू राउन्ड रोविनका आधारमा भइरहेका छन्। आगामी चैत १६ गतेसम्म चल्ने प्रतियोगिता अन्तर्गत दाङमा १४ वटा खेल हुने तालिका छ।