होलीमा उच्छृंखल गतिविधि गर्ने ५५ जनालाई प्रहरीले लियो नियन्त्रणमा

होली मनाउने क्रममा उच्छृंखल गतिविधि गरेको आरोपमा प्रहरीले ५५ जनालाई नियन्त्रणमा लिएको छ।

काठमाडौँ– होली मनाउने क्रममा उच्छृंखल गतिविधि गरेको आरोपमा प्रहरीले बिहीबार ५५ जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले ५२ पुरुष र ३ महिलालाई नियन्त्रणमा लिइएको जानकारी दिए।  पक्राउ परेकाहरूको अवस्था हेरेर मुद्दा चलाउने वा छाड्ने भन्ने टुंगो लाग्ने प्रहरीले जनाएको छ।

उनका अनुसार चेकजाँचका क्रममा काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न ठाउँबाट २३० दुईपांग्रे र २३ चारपांग्रे गरी २५३ सवारीसाधनलाई नियन्त्रणमा लिइएको छ। जसमा मादक पदार्थ सेवन गरेका ४९ र लागुपदार्थ सेवन गरेका आठ वटा छन्।

प्रहरीले काठमाडौँबाट मात्रै २१९ सवारीसाधन नियन्त्रणमा लिएको छ। जसमा १८ वटा चारपांग्रे तथा २०१ वटा दुईपांग्रे २०१ छन्। बिहीबार साँझसम्म दुईपांग्रे ११६ तथा १३ चारपांग्रे गरी १२९ सवारीसाधन छाडिसकिएको छ।