मोरङमा जंगली हात्तीको आक्रमणबाट १३ वर्षमा १६ जनाको मृत्यु

गत वर्षदेखि मोरङको पूर्वपश्चिम राजमार्ग क्षेत्रमा जंगली हात्तीको बिठ्याइँ बढेको लक्ष्मी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सुजय गौतम बताउँछन्।

मोरङ– लेटाङ नगरपालिका–९ जाँतेस्थित जंगली हात्तीको आक्रमणबाट गत फागुन २५ गते एक जनाको मृत्यु भयो। मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार ४३ वर्षीय मनबहादुर इवाहाङ लिम्बूको घरनजिकै कोपिला सामुदायिक वनमा हात्तीले आक्रमण गर्दा घटनास्थलमै उनको निधन भएको हो। 

बेलबारी–११ स्थित लक्ष्मी सामुदायिक वन क्षेत्रमा दाउरा लिन गएकी स्थानीय लक्ष्मी बोगटी गत फागुन २४ गते जंगली हात्तीको आक्रमणबाट घाइते भइन्। भागेर ज्यान जोगाउन सफल बोगटीको हात भाँचिएको छ। शरीरमा चोटपटक लागेको लक्ष्मी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सुजय गौतमले बताए। 

डिभिजन वन कार्यालय मोरङको तथ्यांकअनुसार २०६८ सालयता हात्तीको आक्रमणबाट १६ जनाको मृत्यु भइसकेको छ। यस अवधिमा नौ वटा हात्तीको मृत्यु भएको कार्यालयका वन अधिकृत घनश्याम यादवले जानकारी दिए। जसमध्ये चार वटा हात्ती प्राकृतिक कारणले, तस्करी चोरी सिकारीबाट दुई वटा, गोली हानेर एउटा वटा, बेवारिसे एउटा र करेन्ट लागेर एउटा हात्तीको मृत्यु भएको कार्यालयले जनाएको छ। 

गत वर्षदेखि मोरङको पूर्वपश्चिम राजमार्ग क्षेत्रमा जंगली हात्तीको बिठ्याइँ बढेको लक्ष्मी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सुजय गौतम बताउँछन्।

“हरेक राति जंगली हात्ती बस्तीमा छिरेर त्रसित बनाइरहेको छ,” बेलबारी–४ काकुमका हरिप्रसाद मिश्र भन्छन्, “बालीनाली खाइदिएर कृषकलाई हैरान पारेको छ।”

दिउँसो जंगलमा रहने हात्तीका हुल साँझ परेसँगै आहाराको खोजीमा बस्ती पस्ने गरेको मिश्रले बताए। हात्तीले घर भत्काइदिने, बाली खाइदिने र आक्रमण गर्ने डरले सर्वसाधारण रातभर जागा बस्नुपर्ने बाध्यता रहेको उनले बताए। 

जंगली हात्ती मानव बस्तीमा पस्न थालेपछि प्रदेश वन विकास तथा व्यवस्थापन कार्यक्रमअनुसार ‘एक सामुदायिक वन एक संरक्षण पोखरी’अन्तर्गत वन क्षेत्रमा पोखरी खन्न थालिएको डिभिजन वन कार्यालयले जनाएको छ। मानव र वन्यजन्तुबीचको द्वन्द्व कम गर्नका लागि वन क्षेत्रमा करिब १५७.८ हेक्टर क्षेत्रमा खानयोग्य फलजन्य प्रजातिका बिरुवा रोपिएको डिभिजन वन कार्यालयले जनाएको छ। फलजन्य प्रजातिमा बेल, अमला, कटहर, बडहर, किम्बु, हर्रोबर्रो, सरिफा, अम्बालगायत बिरुवा रोपिएको कार्यालयले जनाएको छ।