हमास इजरायली–अमेरिकी बन्धक र अन्य ४ को अवशेष फिर्ता गर्न तयार

हमासले एक इजरायली–अमेरिकी बन्धक र अन्य चार जनाको अवशेष फिर्ता गर्न आफू तयार रहेको बताएको छ।

प्यालेस्टिनी विद्रोही समूह हमासले एक इजरायली–अमेरिकी बन्धकलाई मुक्त र अन्य चार जनाको अवशेष फिर्ता गर्न तयार रहेको बताएको छ। हमास र इजरायल गाजा युद्धविरामका लागि अप्रत्यक्ष वार्ताका लागि भेला भएपछि हमासले उक्त कुरा बताएको हो।

हमास र इजरायलबीच गाजापट्टिमा युद्धविरामको पहिलो चरण मार्च १ मा अर्को चरणमा सहमति नभई समाप्त भएको थियो। हमासका एक वरिष्ठ अधिकारीले मंगलबार कतारको राजधानी दोहामा वार्ताको नयाँ चरण शुरू भएको बताएका थिए। इजरायलले पनि वार्ताकारको टोली पठाएको थियो।

“हिजो हमास नेतृत्वको प्रतिनिधिमण्डलले भ्रातृ मध्यस्थकर्ताबाट वार्ता पुनः शुरू गर्ने प्रस्ताव प्राप्त गर्‍यो”, हमासले विज्ञप्तिमा भनेको छ, “यसको जवाफमा दोहोरो नागरिकता भएका अन्य चार जनाको अवशेषसहित अमेरिकी नागरिकता भएका इजरायली सैनिक एडन अलेक्जेन्डरलाई रिहा गर्ने सम्झौता समावेश छ।”

युद्धविरामको प्रारम्भिक ६ हप्ता चरणमा इजरायली जेलमा थुनिएका लगभग एक हजार ८०० प्यालेस्टिनी थुनुवाको बदलामा विद्रोहीले ३३ बन्धक मुक्त गरेका थिए। तीमध्ये आठ जना मृत थिए।