सीमास्तम्भमा फोटो खिच्नेदेखि उत्तरतर्फ अवस्थित चीनको स्वशासित क्षेत्र तिब्बतको पठार भूमिमा निर्माण भइसकेका भव्य संरचना अवलोकन गर्ने नेपाली पर्यटकको संख्या बढेको छ।
मुस्ताङ– नेपाली पर्यटकका लागि चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उत्तरी कोरला नाका आकर्षणको केन्द्र बनेको छ।
कोरला नाकामा पुगेर त्यहाँको दजगजा सीमास्तम्भमा फोटो खिच्नेदेखि नेपाली भूमिबाट उत्तरतर्फ अवस्थित चीनको स्वशासित क्षेत्र तिब्बतको पठार भूमिमा निर्माण भइसकेका भव्य संरचना अवलोकन गर्ने नेपाली स्वदेशी पर्यटकको क्रेज ह्वात्तै बढेको छ।
त्यसो त चीनसँग सिमाना जोडिएको कोरला नाका क्षेत्रको पठार भूमि र त्यहाँबाट देखिन मनोरम दृश्यहरूले त्यहाँ पुग्ने जोकोही पर्यटक मोहित नहुने त कुरै भएन। त्यसैका कारण गर्मीयाम शुरू भएसँगै अहिले दैनिक १०० भन्दा बढी मात्रामा नेपालका स्वदेशी पर्यटक कोरला नाकासम्म पुगेर फर्किने गरेका छन्।
भारतीय नाकाबन्दीपछि एकाएक निकै नै चर्चामा आएको कोरला नाका पुगेर फर्किनेको ताँती नै लाग्ने गरेको छ। जसका कारण उपल्लो मुस्ताङका पर्यटन व्यवसाय निक्कै नै उत्साहित भइरहेका छन्।
भारतीय नाकाबन्दी अघि गुमनाम रहेको उत्तरी कोरला नाकाले चर्चा जति बेला पायो, त्यसको कारण थियो उत्तर/दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक आयोजना। आर्थिक वर्ष २०७३/०७४ देखि (बेनी–जोमसोम–कोरला) सडक स्तरोन्नति शुरूआत गरिएको थियो। २०२ किमी बेनी–जोमसोम–कोरला) सडकअन्तर्गत करिब १०५ किलोमिटर कालोपत्र भइसकेको र बाँकी ९९ किलोमिटर सडक ग्राभेल भइसकेकाले नेपाली पर्यटकलाई कोरला नाकासम्म पुग्न सहज भइसकेको छ। जसका कारण नेपाली पर्यटक बस, जिप र मोटरसाइकल यात्रा गर्दै कोरला नाकासम्म पुग्न गरेका हुन्।
बेनी–जोमसोम सडक ७४ किमी र जोमसोम–कोरला ११० किमी सडक एकदिनमै कोरला नाकासम्म पुग्न सक्छन्। सडक सहज भइसकेकाले नेपाली युवायुवतीको कोरला नाकामा लर्को लाग्ने गरेको लोमान्थाङ गाउँपालिकाका प्रशासन प्रमुख विकास केसीले जानकारी दिए। कोरला नाका अवलोकन गर्ने पर्यटकका कारण उपल्लो मुस्ताङको पर्यटन व्यवसायलाई निकै ठूलो टेवा पुगेको प्रशासन प्रमुख केसीको भनाइ छ।
शुक्रबार कोरला नाकाको अवलोकन गरी फर्किएका पोखरा माधव क्षेत्रीले कोरला नाकालाई नेपाल सरकारले व्यवस्थित तुल्याउन आवश्यक रहेको औँल्याए। “सडकको अवस्थामा निकै राम्रो सुधार भएको पायौँ, यति ठूलो नाकामा पर्यटक तथा स्थानीय नागरिकको सुविधाका लागि भरपर्दो पूर्वाधार भएको पाइएन,” क्षेत्रीले भने, “चीनतर्फ लोभलाग्दो भव्य संरचना बनिसकेको रहेछ, हाम्रोतिर खै कहिले बन्ने?”
स्याङ्जाका अर्को पर्यटक रामजी पौडेलले उत्तरी कोरला नाका पर्यटन र नेपाल–चीनको व्यापारिक मार्ग भएकाले त्यहाँ अथाह सम्भावना रहेको कोरला नाकाबाट चीनको मानसरोवर यही नाकाबाट पुग्न छिटो र सजिलो भएकाले यसतर्फ सरकारले अग्रसरता देखाउन आवश्यकता रहेको औँल्याए।
राष्ट्रिय गौरवको कोरला सडक स्तरोन्नतिसँगै उपल्लो मुस्ताङमा नेपाली स्वदेशी पर्यटक आगमनदर बर्सेनि वृद्धि भइरहेको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिए। कोरला क्रेजका कारण पर्यटक बढेसँगै उपल्लो मुस्ताङमा स्तरीय सुविधा सम्पन्न होटल थपिँदै जान थालेको कार्यालय प्रमुख पौडेलले उल्लेख गरे।
त्यसो त मुस्ताङमा बर्सेनि पाँच लाख बढी स्वदेशी पर्यटक मुक्तिनाथको दर्शन गर्न आउँछन्। जसमध्ये एक तिहाइको संख्यामा स्वदेशी पर्यटक कोरला नाकासम्म पुगेर फर्किने गरेको प्रहरीको तथ्यांकमा छ। कोरला नाका गत वर्षको कात्तिक २७ गते उपल्लो मुस्ताङका नागरिकका लागि खुला गरेको थियो।
कोरलास्थित तिब्बती बजारमा पुगेर मालसामान किनमेल गर्न चीन पक्षले कोरला नाका खुला गरेको हो। त्यसो त चीन पक्षले दीर्घकालीन रूपमा कोरला नाकालाई व्यापारिक ट्रान्जिट प्वाइट बनाउने उद्देश्यले चीनले आफ्नो भूमिमा दर्जनौँ भव्य प्रशासनिक भौतिक संरचना निर्माण गरिसकेको छ। नाका खुले पनि सरकारले भन्सार र अध्यागमन कार्यालयको गतिविधि सक्रिय बनाउन नसक्दा त्यहाँका स्थानीय नागरिक तथा पर्यटकलाई समस्याको विषय बनेको छ।
कोरला नाकामा पुग्ने पर्यटकका लागि खाजानास्ता खाने ठाउँका साथै, शौचालय नहुँदा समस्या हुने गरेको छ। कोरला नाकामा व्यावसायिक पूर्वाधार निर्माण गर्न नसक्दा त्यहाँ स्थानीयले त्रिपालमै बसेर व्यापार व्यवसाय चलाउँदै आइरहेका छन्।
कोरला नाका अवलोकनका लागि बर्सेनि स्वदेशी पर्यटकको लर्को लागे पनि विदेशी पर्यटक उपल्लो मुस्ताङ जान सक्दैनन्। विदेशीले अन्नपूर्ण संरक्षित क्षेत्रअन्तर्गत रहेको उपल्लो मुस्ताङ जान ५०० डलर शुल्क तिरेर १० दिनको प्रवेश अनुमति पाउँछन्। यसकारण उपल्लो मुस्ताङ जाने विदेशी पर्यटकको संख्या न्यून छ। बर्सेनि एक लाखभन्दा बढी पर्यटकले मुस्ताङ भ्रमण गर्दा करिब तीन प्रतिशत मात्रै पर्यटक उपल्लो मुस्ताङ पुगेको एक्यापको तथ्यांक छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
