रुसी क्षेत्रमा रहेका युक्रेनी सेनालाई आत्मसमर्पण गर्न पुटिनको निर्देशन

युक्रेनी सेनाले हतियार त्यागेर आत्मसमर्पण गरे जीवन र सम्मानजनक व्यवहारको प्रत्याभूति हुने पुटिनको भनाइ छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी भूभागमा रहेका युक्रेनी सेनालाई आत्मसमर्पण गर्न निर्देशन दिएका छन्।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी नेताले युद्धविरामको पहललाई बिथोल्न खोजेको आरोप लगाएपछि पुटिनले युक्रेनी सेनालाई पछि हट्न भनेका हुन्। 

रुसी टेलिभिजनमा प्रसारण भएको सम्बोधनमा पुटिन भन्छन्, “यदि उनीहरूले हतियार त्यागेर आत्मसमर्पण गरे भने जीवन र सम्मानजनक व्यवहारको प्रत्याभूति हुनेछ।”  

गत अगस्टमा युक्रेनले कब्जा गरेको अधिकांश भूभाग पुनः कब्जा गर्दै रुसले विगत एक हप्तादेखि कुर्स्कको पश्चिमी सीमा क्षेत्रमा आक्रमणलाई तीव्र बनाएको छ। 

यसअघि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी सेनाको जीवन रक्षा गर्न पुटिनलाई आग्रह गरेका थिए। युक्रेनका हजारौँ सैनिकलाई रुसी सेनाले पूर्ण रूपमा घेरेको र निकै कमजोर अवस्थामा रहेको ट्रम्पले जनाएका छन्।  

“मैले राष्ट्रपति पुटिनलाई उनी (रुसी जमिनमा रहेका युक्रेनी सेना) हरूको जीवन रक्षा गर्न जोडदार अनुरोध गरेको छु । यदि, रुसले त्यहाँ उनीहरूविरुद्ध आक्रमण गरेमा यो एक भयानक नरसंहार हुनेछ, जुन दोस्रो विश्वयुद्धपछि कहिल्यै देखिएको थिएन,” उनले भनेका छन्। 

ट्रम्पले आफ्ना राजदूत स्टिभ विटकोफ र पुटिनबीच बिहीबार भएको भेटवार्ताबारे जानकारी दिँदै ३० दिनका लागि युद्धविराम गर्ने प्रस्ताव गरेको बताएका छन्।