आयल निगमले घटायो इन्धनको मूल्य

निगमका अनुसार आइतबारदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर पाँच र डिजेल तथा मट्टितेल प्रतिलिटर चार रुपैयाँका दरले मूल्य घटाइएको छ।

काठमाडौँ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। इन्डियन आयल कर्पोरेसनबाट प्राप्त मूल्यसूचीमा पेट्रोल तथा डिजेलको खरिद मूल्य घटेर आएसँगै निगम सञ्चालक समितिले मूल्य समायोजन गर्ने निर्णय गरेको हो।

निगमका अनुसार आइतबारदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर पाँच रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर चार रुपैयाँका दरले मूल्य घटाइएको छ।

निगमले पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर १६० रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि प्रतिलिटर १६२ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १६३ रुपैयाँ तोकेको छ। यस्तै, डिजेल र मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १४८ रुपैयाँ ५० पैसा, दोस्रा वर्गका लागि प्रतिलिटर १५० रुपैयाँ र तेस्रो वर्गका लागि १५१ रुपैयाँ निर्धारण गरिएको छ।

निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायल तोकेको छ।

डिपोदेखि १५ किलोमिटरसम्मका लागि पेट्रोलियम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य लागू हुने निगमले जनाएको छ। इन्डियन आयल कर्पोरेसनबाट १५/१५ दिनमा प्राप्त हुने पेट्रोलियम पदार्थको खरिद मूल्यअनुसार नेपालमा मूल्य समायोजन हुने गरेको छ।