सन् १९८० मा काठमाडौँबाट हराएका पौभा चित्र २३ वर्षपछि अमेरिकामा भेटिए पनि फिर्ता ल्याउन अरू २२ वर्ष लाग्यो। यी कला फिर्तीका लागि एउटा परिवार–समुदाय ४५ वर्ष निरन्तर लडिरह्यो र अन्ततः फिर्ता ल्याइछाड्यो।
काठमाडौँ– सन् २००३ तिरको कुरा हो। संयुक्त राज्य अमेरिकाको सिकागोस्थित ‘आर्ट इन्स्टिच्युट अफ सिकागो’मा एउटा प्रदर्शनी आयोजना भएको थियो जसको आयोजना भारतीय विद्वान् प्रतापआदित्य पालले गरेका थिए। प्रदर्शनीमा स्टेफन टि एकर्ड पनि थिए जो वासिङ्टन डीसीस्थित सेक्लर ग्यालरीका सञ्चालक थिए। सिकागोपछि उनकै ग्यालरीमा यो प्रदर्शनी गर्ने निधो पनि भएको थियो।
सिकागोको प्रदशर्कनमा एकर्डले तीनवटा पौभा चित्रकला देखे। यी तिनै चित्रकला थिए जुन उनले धेरै पहिले नेपाल भ्रमणमा जाँदा इतुम्बहालस्थित श्री भास्कर केशचन्द्रकृत पारावत महाबिहारमा देखेका थिए।
आफ्नो ग्यालरीमा चोरी गरेर ल्याइएका वस्तुको प्रदर्शनी राख्न नहुनेमा एकर्ड प्रस्ट थिए। यहीकारण त्यसपछि उनी सिकागोको प्रदर्शनीमा रहेका ‘चिन्तामणि लोकेश्वर’, ‘केशचन्द्र आजु भैरवको दर्शन दृश्य’ तथा ‘गगनसिं र उनका दुई श्रीमती’ समेटिएका तीनवटा पौभा चित्रका फोटोकपी बोकेर नेपाल आए।
नेपाल आएर उनले पारावत महाबिहारका तत्कालीन अध्यक्ष क्याप्टेन चन्द्रबहादुर शाक्य र सचिव स्वस्तिरत्न शाक्यसँग घटनाको बेलिबिस्तार सुनाए। त्यति मात्र होइन, चोरी भएर अमेरिका पुगेका पौभा चित्र फिर्ता ल्याउनका लागि गर्न सकिने प्रयासका लागि पनि सल्लाह दिए।
चन्द्रबहादुर र स्वस्तिरत्नका लागि ‘ढुंगा खोज्दा देउता मिलेसरह’ भए एकर्ड। किनभने २०३७ भदौ २९ गतेदेखि हराएका यी पौभा चित्र खोज्न चन्द्रबहादुर र स्वस्तिरत्नले केही बाँकी राखेका थिएनन्। बिहारका पदाधिकारीका हिसबाले पनि उनीहरुका लागि यी पौभा थप महत्त्वपूर्ण थिए। वर्षौं खोज्दा पनि केही नलागेपछि धेरैले पौभा भेटिने आशा मारिसकेका थिए, तर चन्द्रबहादुर र स्वस्तिरत्नले हार नै मानिहालेका भने थिएनन्। (यसबीच स्वस्तिरत्नको दुई वर्षअघि मृत्यु भइसकेको छ, चन्द्रबहादुर क्यान्सरसँग जुधिरहेका छन्)
४५ वर्षदेखिको संघर्षः बुबा हुँदै छोरीसम्म
“रातको समयमा महाबिहारको पर्खालको भित्ता प्वाल पारेर चोरी भएको रहेछ,” इतुम्बहाल बिहारका वर्तमान अध्यक्ष प्रज्ञारत्न शाक्य भन्छन्, “राति चोरी भएको रहेछ। बिहान नित्य पूजाको लागि बिहारका मानिस जाँदा राखिएको ठाउँमा पौभा थिएन।”
त्यो बेला किशोरावस्थामै रहेकाले प्रज्ञारत्नलाई प्रस्ट सम्झना त छैन। तर बिहार भने जीर्ण अवस्थामा रहेको उनले बताए। बिहार कतै भत्किएको अवस्थामा रहेको, बिग्रिएको पर्खाल र छाना भएकाले चोरी गर्न सजिलो भएको आफूले पनि सुनेको उनी बताउँछन्।
एकर्ड अमेरिकाबाट फोटोकपी बोकेर नेपाल आउँदा पौभा हराएको २३ वर्ष बितिसकेको थियो। २३ वर्षसम्म पनि ती पौभा कहाँ कस्तो अवस्थामा छन् भन्ने कसैलाई थाहा थिएन। एकर्डले ल्याएको समाचारले भने बिहारसँग जोडिएकाहरू निकै खुशी थिए।
तर हराएको पौभा फिर्ता ल्याउन सजिलो थिएन। अनेक प्रयास गर्दासमेत सन् २०२० सम्म पनि पौभा फिर्ता ल्याउन सहज भएन। सन् २०२० जनवरी ३१ का दिन अमेरिकाबाट फेडरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबीआई) का केही अधिकारी नेपाल (इतुम्बहालमा) आएपछि भने चोरी भएर अमेरिका पुर्याइएका पौभा चित्र फिर्ता ल्याउने अभियान चुस्त रूपमा अघि बढ्यो।
त्यहीक्रममा नेपाल हेरिटेज रिकभरी क्याम्पेन, लस्ट आर्टस् अफ नेपाल, पुरातत्त्व विभाग, इन्टरपोल, अमेरिकाको म्यानहटनस्थित प्रहरी, अमेरिकास्थित वल्र्ड नेवाः अर्जनाइजेसन र पछिल्लो समय स्वर्गिय स्वस्तिरत्न शाक्यकी छोरी सरस्वतीरत्न शाक्य पनि यसमा सक्रिय बनिन्।
“कति लागिरहेको, कति दुस्मन जम्मा गरिरहेको होला?” बुबा स्वस्तिरत्न शाक्यलाई घरपरिवारमा धेरैले पटक–पटक यस्तै भनेको सरस्वतीलाई अझै पनि सम्झना छ। आमाले बुबालाई यसरी पटक–पटक हिँडेडुलेकोमा गाली गरेको देख्दा उनी पनि आजित हुन्थिन्। “साँचै नै बुबाले गरेको कामको के अर्थ छ र!” उनलाई पनि लाग्थ्यो।
हुन पनि स्वस्तिरत्न यति दत्तचित्त भएर लागेका थिए कि पौभा हराउनसाथै उनले भाइलाई साथ लिएर प्रहरी कार्यालयमा उजुरी दिएका थिए। त्यसपछि पुरातत्त्व विभागदेखि विमानस्थल भन्सार कार्यालयसम्म पौभा हराएकोबारे उजुरी दर्ता गराएका थिए। तर उजुरीपछि प्रहरी उल्टै सरस्वतीका बुबा र काकालाई समात्न आयो।
सरस्वती भन्छिन्, “त्यो बेला बुबाको आर्ट एन्ड क्राफ्ट प्रसिद्ध थियो। राजदूतहरूदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उहाँका कला मायाको चिनो (सोभिनियर) का रूपमा माग हुने गर्थ्यो। बुबालाई लिन प्रहरी आएका बेला सेनाका एकजना मेजर मायाको चिनो लिन आउनु भएको रहेछ। उहाँले बुबाको पक्षबाट बोलिदिएपछि प्रहरी बुबालाई नसमाती फर्कियो।”
त्यो समय असाध्यै कष्टपूर्ण थियो। सरस्वतीलाई बुबाले गाली मात्र खाएको सम्झना छ। बुबा र काका चन्द्रबहादुर प्रहरी चौकी, पुरातत्त्व विभाग र अदालत धाएकोबारे उनले आफ्नो फुपूबाट धेरै कुरा सुन्दै आएकी थिइन्।
पछि उनले सन् २००३ पश्चात् पुरातत्त्व विभागका महानिर्देशकसँगका बुबाले गरेका इमेल र पत्राचार पनि फेला पारिन्। एउटा पत्राचारमा उनका बुबाले लेखेका थिए, “हाम्रो सामान पत्ता लागेको बुझिदिन पर्यो।”
त्यसमा विभागले जवाफ पठाएको छ, “पौभा बहाल (इतुम्बहाल) बाटै बेचेको हो कि होइन, त्यसको पुष्टि गरिदेऊ।”
त्यसपछि उनको बुबाले जवाफ पठाए, “बहालबाट हराएको हो, हाम्रोबाट बेचिएको होइन। किनभने १२ जनाको संघले हस्ताक्षर गरेर पठाएको छ। संघले बेचेको होइन।”
यस्ता थुप्रै इमेल–पत्राचार सम्झँदै सरस्वतीले भनिन्, “त्यसो भए इतुम्बहालको पौभा हो भन्ने प्रमाण के छ भनेर विभागबाट सोधियो। बुबाले चिनियाँजीको फोटो छ। अनि एकर्डजी नेपाल आउँदा ती पौभाको फोटोकपी लिएर आएका थिए। त्यो दुरुस्त छ भन्ने जवाफ पठाउनुभएको छ।”
यसरी पुरातत्त्व विभागमार्फत बुबा र काकाले पौभा फिर्ता ल्याउन गरिरहेको पहल सुनाउने क्रममा सरस्वतीले त्यसका लागि बलियो जग बनेको फोटोग्राफर चिनियाँ ताम्राकारको भूमिका खोतलेकी थिइन्।
ताम्राकार शुक्रबार इतुम्बहालमा भेटिए। त्यहाँ भेट हुँदा ७७ वर्षीय ताम्राकार हर्षित थिए। त्यसको कारण के भने उनले खिचेको पौभाको तस्बिर नै चोरी भएर अमेरिका पुगेको पौभा चित्र फिर्तीको प्रमुख कारण बनेको थियो।
त्यसताका ताम्राकार पुरातत्त्व विभागमा फोटोग्राफरको रूपमा नियुक्त भएका थिए। इतुम्बहालमा गुँला पर्वमा बिहारका कलावस्तुको प्रदर्शनी हुँदा उनलाई पनि विभागबाट खटाइएको थियो। त्यहीक्रममा उनले ती पौभा चित्रका तस्बिर खिचेका थिए।
सरस्वतीले बौद्ध परम्परामै विद्यावारिधि गरेकी छन्। यहीकारण पनि पौभा फिर्ताका लागि आवश्यक पर्ने प्राविधिक तथा प्राज्ञिक प्रमाणहरू जुटाउन खासै गाह्रो भएन। पौभा नेपालकै हो भन्ने पुस्ट्याइँका लागि ३०–३५ वटा ‘जुम–कल’मा उनले लामो बहस–वार्ता गरिन्। यसबाहेक अरू प्राज्ञिक प्रमाणको खोजीमा पनि सक्रिय बनिन्।
त्यसपछि सरस्वतीसँगै नेपाल हेरिटेज रिकभरी क्याम्पेनका सञ्जय अधिकारी पनि बिहारका तत्कालीन अध्यक्ष चन्द्रबहादुर शाक्यसँग भेटिरहन्थे। पछिल्लो समय चन्द्रबहादुर क्यान्सरको उपचारका क्रममा केमोथेरापी गरिरहेकाले उनको स्वास्थ्यलाई अनुकूल हुने गरेर मात्र समय मिलाइन्थ्यो। यसरी गरेको मिहिनेतबाट जुटेका प्रमाण एकर्डले अमेरिकाबाट ल्याएका पौभा चित्रका फोटोकपी र चिनियाँ ताम्राकारले खिचेका तस्बिरसँग दुरुस्त मिलेपछि अन्ततः अमेरिका पुगेका पौभा चित्र फिर्ता ल्याउने टुंगो लागेको सरस्वती बताउँछिन्।
यसरी झण्डै ४५ वर्ष लामो संघर्षपछि गत फागुन २० गते तीनवटा पौभा चित्रसहित १७ वटा अन्य मूर्ति नेपाल फिर्ता आएका छन्। यसका लागि आवश्यक आर्थिक जोहो अमेरिकास्थित वल्र्ड नेवाः अर्गनाइजेसनले गरिदिएको थियो। सरस्वती भन्छिन्, “मेरो (स्वर्गीय) बुबा, काका चन्द्रबहादुर शाक्यसँगै पौभा फिर्ता ल्याउन हिजोदेखि अहिलेसम्म यो अभियानमा निरन्तर सहभागी हुने सबैको उत्तिकै योगदान छ।”

५०० वर्ष पुराना ती पौभा
इतुमबहाल काठमाडौँ उपत्यकाको सबभन्दा ठूलो बहाल मात्र नभएर कला, संस्कृति र कौशलको वैभवले भव्य बहाल समेत मानिन्छ। यहाँ २०० वर्ष पुरानो लोककथाकी राजमति, होलीमा टुँडिखेलको दुईमाजू मन्दिर परिसरमा गुरुमापा खाना खुवाउने चलन तथा अरू सांस्कृतिक तथा कलात्मक सामग्रीहरू प्रशस्त छन्। त्यसमा अहिले अमेरिकाबाट फिर्ता ल्याइएका पौभा चित्रकलाको बेग्लै महत्त्व रहेको वरिष्ठ पौभा चित्रकार लोक चित्रकार बताउँछन्।
ती चित्रमध्ये चिन्तामणि लोकेश्वर करुणाका प्रतीक मानिने उनी बताउँछन्।
“चिन्तामणि भनेको चिन्तन गर्नसाथ पूर्ण हुने मणि (इच्छा), यसमा अंग्रेजीमा अनुवाद गर्दा ‘विस फुल्फिलिङ जेम’ हो,” चिन्तामणि लोकेश्वरको किवंदन्तीलाई सारांशमा बताउँदै उनले भने, “बौद्ध धर्ममा चिन्तामणि लोकेश्वर धनी महर्जनको परिवारमा जन्मिएको कथा छ। उनी दीन दुःखीलाई सहयोग गर्थे। दान गर्दागर्दै घरमा रहेको सम्पत्ति सकियो। सोही क्रममा उनले सपनामा रत्नाकर महादीपमा कल्पवृक्ष देख्छन्। दुःख कष्ट सहेर उनले उक्त कल्पवृक्ष ल्याएर लोकहितमा राखिदिए।”
चिन्तामणि लोकेश्वर बाहेक अन्य दुई पौभा चित्रकला पनि ५०० वर्ष पुराना हुन्। इतुम्बहाल विहारका अध्यक्ष प्रज्ञारत्न शाक्य पौभा बहाललाई फिर्ता भएसँगै सुरक्षित स्थानमा राखिने व्यवस्था गरिएको बताउँछन्। यी चित्र चोरी भएपछि ४५ वर्षअघि टुटेको चलन पुनः सुचारु गरिने उल्लेख गर्दै उनले भने, “भदौमा हुने गुँला पर्वमा १५ दिन हामी यी पौभालाई पुनः प्रदर्शनीका लागि राख्ने छौँ। सम्पूर्ण बहालवासीका लागि यो गर्वको कुरा हो।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
