हुथी विद्रोहीविरुद्ध निर्णायक सैन्य कारबाही शुरू गरेको ट्रम्पको घोषणा

हुथी विद्रोहीले अमेरिकी सैन्य र व्यापारिक जहाजमाथि गरेको आक्रमणले विश्व अर्थतन्त्रलाई अर्बौं डलरको क्षति पुगेको ट्रम्पको भनाइ छ। 

अमेरिकाले यमनका हुथी विद्रोहीविरुद्ध हवाई आक्रमण शुरू गरेको छ, जसमा कम्तीमा ३१ जनाको मृत्यु भएको छ।

हुथी विद्रोही समूहले गाजापट्टीको पूर्ण नाकाबन्दीलाई लिएर लाल सागरमा इजरायलसँग सम्बन्धित जहाजमा पुनः आक्रमण गर्ने धम्की दिएपछि अमेरिकाले आक्रमण गरेको हो। 

यसअघि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध निर्णायक र शक्तिशाली सैन्य कारबाही शुरू गरेको घोषणा गरेका थिए। अमेरिकाले हुथी विद्रोहीलाई विदेशी आतंकवादी संगठनको रूपमा पुनः परिभाषित गरेको १५ दिनपछि यो घोषणा भएको हो। 

“आज मैले अमेरिकी सेनालाई यमनमा हुथी आतंककारीविरुद्ध निर्णायक र शक्तिशाली सैन्य कारबाही गर्न आदेश दिएको छु। उनीहरूले अमेरिकी र अन्य सहयोगी मुलकका जहाज, विमान र ड्रोनविरुद्ध पाइरेसी, हिंसा र आतंकवादको अनवरत अभियान चलाएका छन्,” ट्रम्पले आफ्नो ट्रुथ सोसल मिडिया प्लेटफर्ममा लेलेका छन्। 

अमेरिकाले हुथी विद्रोहीविरुद्ध अत्यधिक घातक बल प्रयोग गर्ने बताउँदै उनीहरूले स्वेज नहर,रेड सी र एडेनको खाडीबाट ढुवानीमा अवरोध पुर्‍याएको आरोप लगाएको छ। “अमेरिकी पानीजहाजमा हुथीको आक्रमण सह्य हुने छैन। जबसम्म हामीले आफ्नो उद्देश्य प्राप्त गर्दैनौँ तबसम्म हामी अत्यधिक बल प्रयोग गर्नेछौँ,” उनले लेखेका छन्।

राष्ट्रपति ट्रम्पले हुथी विद्रोहीले विश्वको सबैभन्दा महत्त्वपूर्ण जलमार्गमध्ये एकमा पानीजहाज बन्द गरेको आरोप लगाएका छन्। पूर्वराष्ट्रपति जो बाइडेनले हुथी विद्रोहीविरुद्ध दिएको कमजोर प्रतिक्रियाको उनले आलोचनासमेत गरेका छन्। हुथी विद्रोहीले अमेरिकी सैन्य र व्यापारिक जहाजमाथि गरेको आक्रमणले अमेरिका र विश्व अर्थतन्त्रलाई अर्बौं डलरको क्षति पुगेको ट्रम्पको भनाइ छ। 

चार महिनाअघि लाल सागर हुँदै जाने अन्तिम अमेरिकी युद्धपोतमाथि हुथी विद्रोहीले आक्रमण गरेका थिए। इरानको आर्थिक सहयोगमा हुथी विद्रोहीले अमेरिकी विमानमा क्षेप्यास्त्र प्रहार गरेको अमेरिकी सैनिक तथा सहयोगीलाई निशाना बनाएका छन्। 

ट्रम्पले इरानलाई प्रत्यक्ष चेतावनी दिँदै हुथी विद्रोहीलाई दिएको समर्थन अन्त्य गर्न र जारी रहे गम्भीर परिणाम भोग्नुपर्ने पनि चेतावनी दिएका छन्।