अमेरिकामा आँधीबेहरी र हावाहुरीका कारण ३४ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्।
संयुक्त राज्य अमेरिकामा शनिबार आएको आँधीबेहरी र हावाहुरीका कारण ३४ जनाको मृत्यु भएको छ। अन्य दर्जनौँ घाइते भएका छन्।
स्थानीय सञ्चारमाध्यमले घरका छाना उडाएको तथा ठूला ट्रक पल्टिएको देखाएका छन्। मौसम पूर्वानुमानकर्ताहरूले यस सप्ताहन्तमा अझ धेरै आँधी आउन सक्ने चेतावनी दिएका छन्।
कन्सास राज्यमा ‘व्यापक धुलासहितको आँधी’का कारण भिजिबिलिटी कम हुँदा ५० भन्दा बढी सवारीसाधन आपसमा ठोक्किँदा आठ जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ।
मिसौरी राज्यको राजमार्ग अनुगमन बलले आँधीका कारण १२ जनाको मृत्यु भएको पुष्टि गरेको छ। मौसमका कारण ध्वस्त भएको मरिना क्षेत्रमा डुंगाहरू एकअर्कामाथि खप्टिएका तस्वीर सार्वजनिक गरिएको छ।
राज्य प्रहरीले रुख ढलेको, बिजुलीका तार चुँडिएको, भवनमा क्षति पुगेको र केही क्षेत्रहरू ‘चक्रवात, आँधीबेहरी र ठूलाठूला असिनाको वर्षा’ बाट नराम्ररी प्रभावित भएको जनाएको छ ।
मिसौरीस्थित एक घरको भग्नावशेषबाट निकालिएकी एलिसिया विल्सनले टिभी स्टेसन केएसडीकेसँग भनिन्, “यो मैले अहिलेसम्म भोगेको सबैभन्दा डरलाग्दो क्षण थियो, यो यति तीव्र थियो कि यसको अनुमानसम्म गर्न सकिएनँ। एक्कासी ‘कान फुट्ने’ आवाजसहितको आँधीले घरहरूका छाना उडाएको र रूखहरू ढलेको आवाज सुनिएको थियो।”
प्रहरीका अनुसार आँधीका कारण मिसौरीको वेन काउन्टीमा ६ जना, ओजार्क काउन्टीमा तीन जना र बटलर, जेफरसन र सेन्ट लुइस काउन्टीमा एक–एक जनाको मृत्यु भएको छ।
टेक्सासको दक्षिणमा स्थानीय अधिकारीहरूले एएफपीलाई बताएअनुसार धुलो आँधी र डढेलोका कारण भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ।
छिमेकी राज्य अर्कान्सासमा आँधीका कारण तीन जनाको मृत्यु हुनुका साथै २९ जना घाइते भएको अधिकारीहरूले बताएका छन्।
अमेरिकी गभर्नर सारा हकाबी स्यान्डर्सले राष्ट्रपति डोनाल्ड ट्रम्पको अनुमतिमा उक्त क्षेत्रमा आपतकालीन अवस्थाको घोषणा गरेकी छन्।
स्यान्डर्सले एक्समा लेखेकी छन्, “राष्ट्रपति ट्रम्पले आँधी प्रभावित अर्कान्सासका जनताको दुःखमा समवेदना प्रकट गर्नुभएको छ। राष्ट्रपति ट्रम्प र अमेरिकी प्रशासनले रातिको आँधीपछि हामीलाई आवश्यक पर्ने सबै कुरामा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।”
संयुक्त राज्य अमेरिकाको मध्य क्षेत्रभरी कम्तीमा दुई लाख घर तथा व्यवसाय शनिबार साँझसम्म विद्युत्विहीन भएको ‘पावरआउटेज डट युएस’ ले जनाएको छ।
मिसिसिपी र टेनेसीलगायत मध्य गल्फ कोस्ट राज्यहरूमा शनिबार थप आँधी आउनसक्ने चेतावनी दिइएको छ।
राष्ट्रिय मौसम सेवाले भनेको छ, “केही लामो दूरीका धेरै शक्तिशाली आँधीमध्ये केही घातक हुन सक्छन्, आज साँझसम्म सावधानी अपनाउनु जरूरी हुनेछ।”
मध्य र दक्षिणी अमेरिकी राज्यहरू टेक्सास, ओक्लाहोमा र कन्सासको अद्वितीय भौगोलिक र मौसमी अवस्थाका कारण उनीहरूले सबैभन्दा घातक प्राकिृतिक विपत्तिको सामना गर्नेगर्छन्।
‘टोर्नाडो एली’ भनिने यो ठाउँमा व्यापक रूपमा भिन्न तापमानको हावा अस्थिर, शक्तिशाली आँधी बादलहरूमा मिल्छ र उहाँ मेदेखि जूनसम्म हावाहुरी तथा अन्य मौसमी प्रतिकुलताले प्रभावित पार्ने गर्छ ।
नेसनल ओशनिक एन्ड एटमोस्फेरिक एडमिनिस्ट्रेसनका अनुसार सन् २०२४ मा संयुक्त राज्य अमेरिकामा आँधीसँग सम्बन्धित घटनामा ५४ जनाको मृत्यु भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
