विष्णुमती नदी सरसफाइका क्रममा भटिएको मूर्ति स्थान यकिन गरी पुनर्स्थापना गरिने

विष्णुमती नदीमा भेटिएको मूर्ति भीममुक्तेश्वर मन्दिरको भए/नभएको यकिन गर्न पुरातत्त्व विभागले अध्ययन गर्ने भएको छ।

काठमाडौँ– विष्णुमती नदीमा भेटिएको मूर्ति भीममुक्तेश्वर मन्दिरको भए/नभएको यकिन गर्न पुरातत्त्व विभागले अध्ययन तथा प्रमाणीकरण गर्ने भएको छ। शुक्रबार महानगर प्रहरी बलको कार्यालयमा वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले स्थानीयले दाबी गरेको स्थानको मूर्ति हो कि होइन यकिन गर्न अध्ययन गरेर पुरातत्त्व विभागले आगामी बैठकमा पेश गर्ने निर्णय भएको हो।

स्थानीय र सम्पदा अभियन्ताले यो मूर्ति विष्णुमती नदी किनारामा रहेको भीममुक्तेश्वर मन्दिरबाट हराएको कामदेव (छत्रचण्डेश्वर, लकुलिस) भनेर दाबी गरेका छन्।

बैठकमा महानगरको सम्पदा विभागका प्रमुख कुमारी राई, कालीमाटी प्रहरी वृत्तका प्रहरी वरिष्ठ नायब निरीक्षक लेखबहादुर धागा मगर, पुरातत्त्व अधिकृत मञ्जरी प्रधान, संग्रहालय अधिकृत पुरुषोत्तम आचार्य, सम्पदा अभियन्ता यादवलाल कायस्थसहितका पदाधिकारी तथा प्रतिनिधि उपस्थित थिए। 

बैठकमा अभियन्ता कायस्थले यो मूर्ति कालीमाटी पुलबाट ज्ञानतीर्थतर्फ विष्णुमती नदी किनारामा भएको भीममुक्तेश्वर मन्दिरको भएको दाबी गरेको उल्लेख गरे। २०७८ चैत २४ गते मूर्ति हराएपछि खोजीका लागि कालीमाटी प्रहरीमा निवेदन दिएको उनको भनाइ थियो। कायस्थको भनाइलाई पुष्टि गर्दै कालीमाटी प्रहरी वृत्तका प्रहरी वरिष्ठ नायब निरीक्षक मगरले पुष्टि गरे।

पूर्ववत् स्थानमा मूर्ति राख्न, यो त्यही ठाउँमा थियो भन्ने पुष्टि गर्नु पर्ने विषय बैठकमा केन्द्रित थियो। छलफलपछि पुरातत्त्व विभागले अध्ययन गर्ने, अध्ययनको निष्कर्षअनुसार प्रक्रिया अगाडि बढाउने साझा धारणा बनेको थियो।

महानगरले सञ्चालन गरेको नदी सरसफाइ स्वर्णिम योजनाअन्तर्गत विष्णुमती नदीमा डोजर लगाएर सफाइ गर्ने क्रममा फागुन २४ गते शनिबार बिहान करिब १० बजेतिर मूर्ति भेट्टाइएको थियो। नदीभित्रबाट निकालिएको मूर्ति धोइपखाली गरेर अहिले महानगर प्रहरी बलको कार्यालयमा राखिएको छ। कार्यक्रमका फोकल पर्सन सानुमैया महर्जनका अनुसार कालीमाटी पुल र ज्ञानतीर्थको बीच नदी खण्डमा नदीभित्रै फोहोरसँग पुरिएको अवस्थाबाट मूर्ति निकालिएको हो। आकारमा मूर्ति पूर्ण भए पनि सूक्ष्म कला र अंगहरूको आकृति भने बिग्रिएको अवस्थामा छ।