इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेड, आर्सनल र फुलहम विजयी

इंग्लिस प्रिमियर लिग फुटबलको गत राति भएका खेलमा म्यानचेस्टर युनाइटेड, आर्सनल र फुलहम विजयी भएका छन्।

काठमाण्डौँ– इंग्लिस प्रिमियर लिग फुटबलको गत राति भएका खेलमा म्यानचेस्टर युनाइटेड, आर्सनल र फुलहम विजयी भएका छन्।

म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई ३–० गोल अन्तरले हरायो। रसमस होजलुन्ड, एलेजान्ड्रो गोर्नाचो र ब्रुनो फर्नान्डेसले क्रमश: खेलको २८, ६७ र ९०औँ मिनेटमा गोल गरे।

यस्तै, आर्सनलले चेल्सीलाई १–० ले पराजित गर्‍यो। आर्सनलका मिकेला मोरिनोले खेलको २०औँ मिनेटमा गोल गरे। त्यही गोलले नै टोलीलाई जित दिलायो।

हिजोकै अर्को खेलमा फुलहमले टोटनहमलाई २–० ले हरायो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको पनि अन्तिमतिर फुलहम हावी हुँदैँ ७८ र ८८ मिनेटमा लगातार गोल गर्न सफल भयो। रोड्रिगो मुनिज र रायन सेसेग्नले गोल गरे।

प्रिमियर लिगमा ७० अंक रहेको लिभरपुल शीर्ष स्थानमा छ। ५८ अंकका साथ आर्सनल दोस्रो र ५४ अंक रहेको नटिंघम फरेस्ट तेस्रो स्थानमा छ। ४९ अंक रहेको चेल्सी चौथो स्थानमा छ। ४५ अंकका साथ फुलहम आठाैँ स्थानमा छ।