छ वर्षीया छोरीलाई आमाको जिम्मा लगाएर रोजगारीका लागि मलेसिया गएकी तिलमायाको पाकिस्तानी नागरिकले हत्या गरेका थिए।
नवलपरासी– एघार महिनाअघि मलेसियामा हत्या भएकी नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–४ की तिलमाया सार्कीको शव आज नेपाल ल्याइने भएको छ। गत वैशाख २९ गते मलेसियामा हत्या भएपछि शव ल्याउन परिवारले पहल गरे पनि ढिलाइ भएको थियो।
रोजगारीका लागि मलेसिया पुगेकी २५ वर्षीय तिलमायाको हत्या भएपछि परिवारले शव पनि पाएको थिएन भने राहत रकमका लागि कागजात पूरा गर्न पनि सकेको थिएन। श्रीमान्सँग सम्बन्धविच्छेद गरेर छ वर्षीया छोरी आमाको जिम्मा लगाएर मलेसिया गएकी तिलमायाको पाकिस्तानी नागरिकले हत्या गरेका थिए।
छोरी तिलमायाको हत्या भएको खबर पाएदेखि नै शव नेपाल ल्याउनका लागि ७० वर्षीय आमा धनमाया सार्की विभिन्न निकाय धाएकी थिइन्। तर पनि हत्याको अनुसन्धान नसकिएको भन्दै मलेसियाबाट शव नेपाल पठाउन आनाकानी गरिएको थियो। शव ल्याउन ढिलाइ हुँदा परिवारले पाएको दुःखबारे विभिन्न सञ्चारमाध्यममार्फत समाचार प्रकाशन भएपछि यस विषयले प्राथमिकता पाएको सुरक्षित आप्रवासन केन्द्र (सामी परियोजना)की परामर्शदाता रञ्जना लम्सालले बताइन्।
“लामो प्रयासपछि शव नेपाल ल्याउन लागिएको छ। तिलमायाको शव बोकेको विमान सोमबार दिनको साढे १२ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल काठमाडौँमा अवतरण गर्ने जानकारी पाएका छौँ,” उनले भनिन्, “शव बुझ्नका लागि तिलमायाकी दिदी नीलमाया सार्की आइतबार काठमाडौँ जानुभएको छ।”
मलेसियादेखि काठमाडौँ शव ल्याउँदाको खर्च मलेसियन कम्पनीले नै बेहोर्ने भएको छ। शव सोमबार साँझसम्ममा तिलमायाको माइतीघर कावासोती–४ हसौरामा आइपुग्ने लम्सालले जानकारी दिइन्।
“वैदेशिक रोजगार बोर्डले उपलब्ध गराउने निःशुल्क शववाहानमार्फत काठमाडौँबाट घरसम्म शव ल्याइने छ,” उनले भनिन्, “आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरिएकाले सोमबार नै शव घर आइपुग्ने छ।”
वैदेशिक रोजगार बोर्डको नियमानुसार मृत्यु भएको मितिले एक वर्षभित्रमा आर्थिक सहायताका लागि निवेदन पेस गरिसक्नुपर्छ। तिलमायाको परिवारले पाउने आर्थिक सहायताका लागि वैदेशिक रोजगार बोर्डमा निवेदन दिइसकिएको र बाँकी कागजपत्र शवसँगै आउने हुँदा उक्त सहायता पछि बुझाइने लम्सालले बताइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
