नमोबुद्ध–तेमाल सडकखण्डको स्तरोन्नति ८ महिनादेखि अलपत्र

सडक निर्माणलाई तीव्रता दिन पटक–पटक ताकेता गरेको तर ठेकेदार कम्पनीको बेवास्ता गरेका कारण आयोजना लथालिंगको अवस्थामा पुगेको नमोबुद्ध–४ का वडाध्यक्ष अर्जुन कार्कीले बताए।

काभ्रेपलान्चोक– नमोबुद्ध नगरपालिकाको भकुण्डेबेँसीदेखि तेमाल गाउँपालिकाको मेच्छेसम्मको १३ किलोमिटर सडक स्तरोन्नतिको समयसीमा सकिएको आठ महिना बित्यो। डिभिजन सडक कार्यालय भक्तपुरले उक्त सडकखण्ड स्तरोन्नतिका लागि २०७९ साउन १६ गते २० महिनामा निर्माण सक्नेगरी ठेक्का लगाएको थियो। 

भकुण्डेबाट मेच्छेसम्म दुई खण्डमा १३ किमी सडक कालोपत्र गर्नेगरी निर्माण कम्पनी केएस देवी रमन/तेज जेभीलाई २० करोड ८९ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। सम्झौताअनुसार सडक छेउमा पर्खाल लगाउने, नाली निर्माण गर्ने, सबबेस, बेस र कालोपत्र गर्नुपर्ने थियो। तर, समयसीमासम्म २५ प्रतिशतसमेत काम नभई आठ महिनादेखि अलपत्र अवस्थामा हो। सम्झौताअनुसार गत साउन १५ गतेसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने थियो।

उक्त सडकखण्ड बीपी राजमार्गको वैकल्पिक मार्गका रूपमा समेत अगाडि बढाइएको हो। गत असोज दोस्रो साता रोशी खोलाको बाढीले करिब १३ किलोमिटर राजमार्ग क्षतिग्रस्त हुँदा यही सडकखण्डबाट सिन्धुली र काभ्रेपलान्चोकतर्फ रोकिएका सयौँ सवारी आवतजावत गराइएको थियो। नमोबुद्ध नगर तथा तेमाल गाउँपालिकाले पटक–पटक सडक कार्यालयमा ताकेता गर्दासमेत निर्माण कम्पनीमार्फत कामलाई तीव्रता दिन नसक्दा स्तरोन्नतिमा ढिलाइ भएको हो। 

सडक निर्माणलाई तीव्रता दिन पटक–पटक ताकेता गरेको तर ठेकेदार कम्पनीको बेवास्ता गरेका कारण आयोजना लथालिंगको अवस्थामा पुगेको नमोबुद्ध–४ का वडाध्यक्ष अर्जुन कार्कीले बताए। “आयोजनाको शुरूआती चरणमा केही काम भएको हो, त्यसपछि निर्माणले गति नलिँदा यस्तो अवस्था आयो”, उनले भने। उनका अनुसार गुणस्तरीय निर्माणमा पनि शंका गर्नुपर्ने देखिएको छ। 

जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति काभ्रेपलान्चोक, तथा स्थानीय जनप्रतिनिधिले पटक–पटक अनुगमन गर्दै तालिका बनाएर तोकिएको समय सीमाभित्रमा काम सक्ने गरी निरन्तरता दिन र कामको प्रगति विवरण पेस गर्न निर्माण कम्पनीलाई निर्देशन दिँदै आएका थिए। तेमाल गाउँपालिकाका जनप्रतिनिधिको टोलीलेसमेत हाल डिभिजन कार्यालयलाई ध्यानाकर्षण गर्दै सडकको काम छिटो सम्पन्न गराउन ताकेता गरेको जनाइएको छ।

यसैबीच निर्माण कम्पनीले आउँदो असार मसान्तसम्म चार महिना समय थपको माग गर्दै डिभिजन कार्यालयमा निवेदन दिएको छ। कार्यालयका इन्जिनियर विन्दु अधिकारीका अनुसार निर्माण कम्पनीले समय थपको माग निवेदन दिई रोकिएको काम शुरू गर्न लागेको छ। उक्त सडक स्तरोन्नति एवं विस्तारमा ढिलाइ हुँदा हिउँद/वर्षामा सडकयात्रीले निकै सास्ती खेप्नुपरेको छ।