धनुषाको भठिहनमा प्रहरीले चलायो गोली, १ जना घाइते

धनुषाको भठिहनमा चोकको नामकरणको विषयमा भएको दुई पक्षबीचको झडप नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन्।

जनकपुर– धनुषाको सबैला नगरपालिकास्थित भठिहनमा चोकको नामकरणको विषयमा भएको झडपमा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन्। 

दुई पक्षबीचको झडप नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर शहीदनगर–१ का सन्तोष यादव घाइते भएका हुन्। घाइते यादवको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

केलुवामोरका बासिन्दाले भठिहनमा ‘यादव चोक’ नामकरण गरेका थिए। उनीहरूले यादव चोकको बोर्डसमेत सडकमा राखेका थिए। तर भठिहनका बासिन्दाले बोर्ड उखालेर प्रहरीको जिम्मा लगाएपछि विवाद चुलिएको हो।

एक पक्षले यादव चोक नै हुनुपर्छ भने अर्को पक्षले अस्वीकार गर्ने गर्दा झडपको स्थिति सिर्जना भएको प्रहरीको भनाइ छ। आइतबार पनि दुई पक्षबीचको झडपलाई नियन्त्रणमा लिन प्रहरीले टियर ग्यासका साथै लाठीचार्ज गरेको थियो।