पूर्वसचिव पाण्डे र बेचन झालाई रिहा गर्न सर्वोच्चले गर्‍यो अस्वीकार

सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेका पूर्वसचिव टेकनारायण पाण्डे र बेचन झाको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको छ।

काठमाडौँ–  सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परी मुद्दा पुर्पक्षका लागि कारागारमा रहेका पूर्वसचिव टेकनारायण पाण्डेय र बेचन झालाई रिहा गर्न अस्वीकार गरेको छ।

सोमबार सर्वोच्च अदालतको छुट्टाछुट्टै इजलासले दुवै जनालाई पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौँ जिल्ला अदालतको आदेशलाई कानूनसम्मत ठहर गर्दै बन्दी प्रत्यक्षीकरण रिट खारेज गरेको हो।

पूर्वसचिव पाण्डेको हकमा न्यायाधीशद्वय कुमार चुँडाल र महेश शर्मा पौडेलको इजलासले बन्दी प्रत्यक्षीकरण रिट खारेज गरेको हो भने झाको हकमा न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको इजलासले रिट खारेज गरेको हो। हाल उनीहरू पुर्पक्षका लागि कारागारमा छन्। 

उनीहरूलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। उक्त आदेशपछि उनीहरू बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च पुगेका थिए।