अमेरिकामा आएको आँधीबेहरीबाट मृत्यु हुनेको संख्या ४० पुग्यो

मध्य तथा दक्षिणी अमेरिकामा आएको विनाशकारी आँधीबेहरीका कारण मृत्यु हुनेको संख्या ४० पुगेको छ।

तस्वीर : जेफ रोबर्सन/एपी

मध्य तथा दक्षिणी अमेरिकामा आएको विनाशकारी आँधीबेहरीका कारण मृत्यु हुनेको संख्या ४० पुगेको छ। दर्जनौँ घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

प्रभावित क्षेत्रका स्थानीय समाचार च्यानलले तीव्र हावाले घरहरूको छत उडेको, रूखहरू ढलेका र ट्रकहरू पल्टिएको भिडियो देखाएका छन्।

कान्सासमा धुलोसहितको आँधी कारण भिजिबिलिटी न्यून भई ५० भन्दा बढी सवारीसाधन आपसमा ठोकिँदा आठ जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ।

ओक्लाहोमामा राज्यभर जंगली आगो र तीव्र हावा चल्दा चार जनाको मृत्यु भएको स्थानीय आपत्कालीन व्यवस्थापन विभागले जनाएको छ।

“हामी दक्षिण र मध्यपश्चिमका धेरै राज्यलाई असर गरेको गम्भीर आँधीबेहरी र तुफानलाई सक्रिय रूपमा निगरानी गरिरहेका छौँ”, राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोसलमा आइतबार पोस्ट गरेका छन्।

अर्कान्सासमा नेसनल गार्ड सेना तैनाथ गरिएको उनले बताएका छन्। त्यहाँ आँधीका कारण तीन जनाको मृत्यु भएको र ३२ जना घाइते भएका छन्। 

“क्षति ठूलो छ”, मिसौरीका गभर्नर माइक केहोले त्यस राज्यका सबैभन्दा बढी प्रभावित क्षेत्रहरूको भ्रमण गरेपछि एक विज्ञप्तिमा भनेका छन्, “घर र व्यवसायहरू ध्वस्त भएका छन्, सम्पूर्ण समुदायहरू बिजुलीविहीन छन् र पुनर्स्थापित गर्न सहज छैन।”

यसअघि मिसौरी स्टेट हाइवे गस्तीले आँधीबेहरीसँग सम्बन्धित १२ जनाको मृत्युको पुष्टि गरेको छ। उसले मौसमले विनाश गरेको मरिनामा एक अर्कामाथि थुप्रिएका डुंगाका तस्वीरहरू साझा गरेको थियो।

टेक्सासमा स्थानीय अधिकारीले धुलोको आँधी र आगोका कारण सडकमा भिजिबिलिटी कम भई सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको बताएका छन्।

नेसनल ओसेनिक एन्ड एटमोस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) का अनुसार संयुक्त राज्य अमेरिकामा गत वर्ष लगभग एक हजार आठ सय आँधीसहित दोस्रो सबैभन्दा धेरै बबन्डर देखिएको थियो।