काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा प्राडा. अच्युत वाग्ले नियुक्त

काठमाडौँ विश्वविद्यालयको उपकुलपति पदमा प्राडा. अच्युतप्रसाद वाग्ले नियुक्त भएका छन्।

काठमाडौँ– काठमाडौँ विश्वविद्यालयको उपकुलपति पदमा प्राडा. अच्युतप्रसाद वाग्ले नियुक्त भएका छन्।

विश्वविद्यालयको रिक्त उपकुलपति छनोटका लागि गठित खोज तथा सिफारिस समितिका संयोजक र सदस्यद्वयको सिफारिसमा परेका तीन जनामध्येबाट डा. वाग्लेलाई प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले सो विश्वविद्यालयको ऐन, २०४८ को दफा १३ (४) बमोजिम सोमबार नियुक्त गरेका हुन्। 

उपकुलपति छनोटका लागि डा. सुरेशराज शर्मा, डा. अर्जुन कार्की र जनार्दन नेपाल रहेको समिति गठन गरिएको थियो। सो विश्वविद्यालयका उपकुलपति डा. भोला थापाको कार्यकाल गत माघ ६ गते सकिएको थियो।

काभ्रेपलान्चोकको बनेपा नगरपालिकामा २०२५ सालमा जन्मिएका नवनियुक्त उपकुलपति वाग्ले काठमाडौँ विश्वविद्यालयका कार्यवाहक उपकुलपति एवं रजिस्ट्रार थिए। उनले सो विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टको सहायक डीन, उक्त स्कुलको विज्ञान विभागको प्रमुख भएर काम गरिसकेका छन्।

इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी, कानपुरबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका उनले बेलायतको ब्रिमिङ्घम विश्वविद्यालयबाट एमएस्सी र नेपालको त्रिभुवन विश्वविद्यालयबाट एमए उत्तीर्ण गरेका छन्।

राष्ट्रिय अखबारका नियमित स्तम्भकार डा. वाग्लेसँग प्रधानमन्त्रीको प्रेस सल्लाहकार र नेपाल राष्ट्र बैंकका गभर्नरको सल्लाहकार रही काम गरेको अनुभव छ। उहाँले व्यवसाय, वातावरण, क्षेत्रीय अर्थतन्त्र, वित्तीय संघीयता र उद्यमशीलता आदि विषयमा अनुसन्धान गर्दै आएका छन्। उपकुलपतिको कार्यकाल चार वर्षको रहन्छ।