गाजामा इजरायलको आक्रमण, १३० जनाको मृत्यु

इजरायली सेनाले हमासको आतंकवादी क्षेत्रलाई लक्षित गरी आक्रमण गरेको बताएको छ। मध्य गाजामा देर अल–बलाहमा इजरायली सेनाले तीन घरलाई निशाना बनाएको छ।

इजरायलले गाजामा शुरू गरेको हवाई आक्रमणमा परी कम्तीमा १३० जनाको मृत्यु भएको छ। आक्रमणमा कैयौँ घाइते भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

इजरायली सेनाले हमासको आतंकवादी क्षेत्रलाई लक्षित गरी आक्रमण गरेको बताएको छ। गाजाका उप-आन्तरिक मन्त्री र क्षेत्रका उच्च श्रेणीका हमास सुरक्षा अधिकारी महमूद अबु वफाहको आक्रमणमा मृत्यु भएको बीबीसीले जनाएको छ। 

मध्य गाजामा देर अल–बलाहमा इजरायली सेनाले तीन घरलाई निशाना बनाइएको तथा खान यूनिस र रफाहमा पनि भौतिक संरचनालाई लक्षित गरेका छन्। जनवरी १९ मा युद्धविराम शुरू भएदेखि गाजामा हवाई आक्रमणको यो सबैभन्दा ठूलो लहर हो। 

एक प्रत्यक्षदर्शीका अनुसार जब गाजामा विस्फोट शुरू भयो, धेरै मानिसहरू रमजानको पवित्र महिना भएकोले बिहानको खाना खाँदै थिए। २० भन्दा बढी इजरायली युद्ध विमानहरू उडेका थिए। त्यसपछि विमानहरूले गाजा शहर, रफाह र खान युनिसमा आक्रमण गर्न थालेका थिए। 

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षामन्त्री इजरायल काट्जले मंगलबार बिहान आक्रमणको आदेश दिएका थिए। पछिल्लो समय गाजा युद्धविराम विस्तार गर्ने वार्ता सम्झौतामा पुग्न असफल भएका छन्।