होन्डुरसमा जहाज दुर्घटना हुँदा कम्तीमा ७ जनाको मृत्यु

लान्सा एयरलाइन्सको जहाजले रोआटानबाट सोमबार साँझ उडान भरेको थियो र ला सेइबा बन्दरगाहतर्फ जाने क्रममा दुर्घटनामा परेको थियो।।

होन्डुरसको क्यारेबियन टापु रोआटानबाट उडेको जहाज समुद्रमा दुर्घटना हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ। 

लान्सा एयरलाइन्सको जहाजले रोआटानबाट सोमबार साँझ उडान भरेको थियो र ला सेइबा बन्दरगाहतर्फ जाँदै थियो। रोआटान होन्डुरसको मुख्य पर्यटकीय गन्तव्यमध्ये एक हो। “विमान झन्डै हामीमाथि खस्यो । म माछा मार्दै थिएँ,” एचसीएच टेलिभिजनसँग एक माझीले भने। 

दमकल विभागका मेजर विल्मर गुरेरोले दुर्घटनास्थलबाट १० जनालाई निकालिएको र तीमध्ये ६ जनालाई अस्पतालमा मृत घोषित गरिएको बताए। समुद्रमा जहाज नजिकै एक चालक दलका सदस्यको शव तैरिरहेको फेला परेको थियो। उक्त विमान किनारबाट करिब एक किलोमिटर टाढा दुर्घटनामा परेको थियो ।

अधिकारीहरूका अनुसार जहाजमा १८ जना सवार थिए। होन्डुरसका राष्ट्रपति सिओमारा क्यास्ट्रोले दुर्घटनाका पीडितहरूलाई सहयोग गर्न सशस्त्र बल, दमकल र आपत्कालीन समिति खटिएको बताए। 

ब्रिटिस निर्मित जेटस्ट्रीम ४१ मा ‘स्पष्ट यान्त्रिक खराबी’का कारण दुर्घटना भएको प्रहरीले जनाएको छ।