बीपी प्रतिष्ठानको एमसीएच भवन उद्घाटन स्थगित

आर्थिक अनियमितताको आशंकामा अख्तियारले अनुसन्धान गरिरहेको उक्त भवन बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने तय भएको थियो।

काठमाडौँ– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठन धरानमा निर्माण भएको मातृस्वास्थ्य (एमसीएच) भवन उद्घाटन कार्यक्रम स्थगित भएको छ। 

आर्थिक अनियमितताको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको उक्त भवन बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने तय भएको थियो। ‘विशेष कारणवश अर्को सूचना नहुन्जेलसम्मलाई स्थगन गरिएको’ प्रतिष्ठानका उपकुलपति ज्ञानेन्द्र गिरीले मंगलबार बिहान जारी गरेको सूचनामा उल्लेख छ। 

एमसीएच भवनको तत्काल सञ्चालन असम्भव भन्दै प्रतिष्ठानकै पदाधिकारीले चौतर्फी विरोध गरेपछि कार्यक्रम स्थगन गरिएको हो। ४०० शय्याको भवन उद्घाटनका लागि प्रधानमन्त्री ओलीलाई लिएर स्वास्थ्यमन्त्री एवं प्रतिष्ठानका सहकुलपति प्रदीप पौडेल बुधबार बिहान धरान जाने तय भएको थियो। 

यो पनि: ३ अर्ब खर्च भएको अस्पतालमा पानी–बिजुली छैन, उद्घाटनमा प्रम ओली उभ्याउने ‘दौडधुप’

           शिलालेख राखिएको भवनमा ‘ताला’, पानी–बिजुली नभएको अर्को भवन उद्घाटनमा जाँदै प्रधानमन्त्री