२५ करोड रुपैयाँ बराबरको युरो र डलर लिएर रसुवागढी नाका जाँदै थिए पक्राउ परेका लामा

यसअघि २०७३ पुसमा सात केजी सुनसहित पक्राउ परेका लामामाथि राजस्व अनुसन्धान विभागले मुद्दा चलाएको थियो भने उनी २०७८ मा छुटेका थिए।

काठमाडौँ– अवैध विदेशी मुद्रासहित पक्राउ परेका व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले टोखा नगरपालिका–२ झोर क्षेत्रबाट अवैध विदेशी मुद्रासहित सिन्धुपाल्चोकका कुसाङ लामालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो।

उनको साथबाट डलर र युरोलगायत मुद्रा बरामद भएको प्रहरीले जनाएको छ। ‘फुच्चे’ नामले चिनिने लामा ना. ७ ख १६५२ नम्बरको सोनी ट्रान्सपोर्ट लेखिएको मालवाहक ट्रकका चालक हुन्।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–०१ का बासिन्दा ४३ वर्षीय लामालाई प्रहरीले सोमबार राति ११ बजे पक्राउ गरेको हो। अवैध युरो तथा डलर रसुवागढी नाका हुँदै छिमेकी राष्ट्र चीन लगिँदै छ भन्ने सूचनाका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

मालवाहक ट्रकमा शंका लागि खानतलासी गर्दा ‘वोनट’ अर्थात् ड्राइभर बस्ने कोठा (क्याबिनको बायाँतर्फ)को माथिल्लो भागमा फल्स बटम बनाइ लुकाइछिपाइ ल्याएको विदेशी मुद्रा फेला परेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेत बताए। लामा चालक भई भरियाका रूपमा काम गरिरहेको प्रारम्भिक बयानका क्रममा खुलेको प्रहरीले जनाएको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनको साथबाट अमेरिकी डलर १०० दरका तीन हजार ११९ र ५० दरका १७९ थान नोट बरामद भएको छ। त्यस्तै, युरो ५०० दरका ११, २०० दरका ४८०, १०० दरका चार हजार १४८ र ५० दरका १७ हजार १७७ थान नोट बरामद भएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। यो मुद्रा हालको विनिमयदर अनुसार २५ करोड एक लाख ६० हजार ३४८ रुपैयाँ बराबर हुने प्रहरीको भनाइ छ। साथै, प्रहरीले उनीले प्रयोग गरिरहेको ट्रक र दुई वटा मोबाइल पनि जफत गरेको छ।

भन्सार तथा राजस्व छली अवैध विदेशी मुद्राको कारोबार गरेकाले लामालाई विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिमको कसुरमा कारबाही तथा थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग, हरिहर भवन पठाइने प्रहरीले पत्रकार सम्मेलनमार्फत जनाएको छ।

लामा यसअघि पनि सुन तस्करी प्रकरणमा जेल सजाय भोगेर छुटेको पनि प्रहरीको अनुसन्धानका क्रममा खुलेको छ। उनीमाथि २०७३ पुस १३ गते राजस्व छली सुन चोरीपैठारी मुद्दा चलेको थियो। सात केजी सुनसहित पक्राउ परेपछि राजस्व अनुसन्धान विभागले उनीमाथि मुद्दा चलाएको थियो। उनी सजाय भुक्तान गरेर २०७८ सालमा छुटेका थिए।