पोखरा बेलुन विस्फोट घटना: छानबिन समितिको प्रतिवेदनमा के छ ?

समितिले सहभागिता रहने कार्यक्रममा विशिष्ट व्यक्ति स्वयंले संवेदनशीलता ख्याल गर्नुपर्ने, सुरक्षालाई भन्दा उपस्थितिलाई मात्र प्राथमिकता दिने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने सुझाव दिएको छ।

काठमाडौँ– पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष २०२५’ उद्घाटन समारोहमा भएको बेलुन विस्फोट घटनाको अनुसन्धान गर्न गठित छानबिन समितिले मंगलबार गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाएको छ। भ्रमण वर्ष उद्घाटनका क्रममा बेलुन विस्फोट हुँदा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका थिए।

घटनालगत्तै गृहमन्त्री लेखकले मन्त्रीस्तरको निर्णयबाट कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय छानबिन समिति गठन गरेका थिए। समितिले घटनाको विस्तृत छानबिन गरी र आगामी दिनमा यस्ता प्रकारका घटना दोहोरिन नदिन पूर्वसर्तकता र अवलम्बन गर्नुपर्ने उपायसहितको प्रतिवेदन बुझाएको गृह मन्त्रालयले जनाएको छ।

प्रतिवेदन बुझ्दै गृहमन्त्री लेखकले प्रतिवेदनमा उल्लेख भएका विषय कार्यान्वयनका लागि गृहसचिव गोकर्णमणि दुवाडीलाई निर्देशन दिएका छन्। 

समितिले विशिष्ट व्यक्तिको सहभागिता रहने कार्यक्रममा विशिष्ट व्यक्ति स्वयंले संवेदनशीलता ख्याल गर्नुपर्ने, सुरक्षालाई भन्दा उपस्थितिलाई मात्र प्राथमिकता दिने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने सुझाव दिएको छ।

त्यस्तै, प्रतिवेदनमा मञ्चका कार्यक्रममा प्रज्वलनशील पदार्थको प्रयोग गर्न पूर्ण रूपमा रोक लगाउनुपर्ने र प्रविधिका नाउँमा जोखिम मूल्यांकन नगरी कुनै कार्यक्रम औपचारिक समारोहमा समावेश गर्न नहुने लगायतका सुझाव पनि समेटिएको छ।

त्यसका साथै भविष्यमा यस प्रकारका घटना हुन नदिन सुधार गर्नुपर्ने विषयसमेत प्रतिवेदनमा उल्लेख गरिएको छ। जसमा विस्फोटक रसायन र प्रज्वलनशील पदार्थको अनधिकृत आपूर्ति तथा उपयोगमा बन्देज लगाउनुपर्ने, यस्ता प्रकृतिका कार्यक्रम आयोजना गर्नुपूर्व अनुमति लिने क्रममा स्थानीय प्रशासनलाई कार्यक्रमको रूपरेखा उपलब्ध गराउनु पर्ने व्यवस्था मिलाउनुपर्ने भनिएको छ।

त्यस्तै, कार्यक्रममा सुरक्षा मापदण्डलाई ध्यानमा राखी सुरक्षित विकल्पको उपयोग गर्ने, बेलुन उडाउन आवश्यक भएमा अप्रज्वलनशील हिलियम ग्यास प्रयोग गर्ने, यस्ता प्रकृतिका कार्यक्रममा अनुमतिबिना आतिसबाजी तथा विस्फोटक रसायनको प्रयोगलाई पूर्णतः बन्देज लगाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ।

सार्वजनिक कार्यक्रममा सहभागी हुने विशिष्ट/अति विशिष्ट व्यक्तिले समेत आफू सहभागी हुने कार्यक्रमको सञ्चालन र व्यवस्थापनबारे अग्रिम जानकारी लिई सुरक्षाको सुनिश्चितता भई कार्यक्रममा उपस्थिति हुने संस्कारको विकास गर्नुपर्ने लगायतका विषय सुधार गर्नुपर्ने उल्लेख छ।

त्यसैगरी यस प्रकारका कार्यक्रम सञ्चालनपूर्व आयोजक पक्षबाट योजना बनाउने र सरोकारवाला निकायसँग निरन्तर रूपमा प्रभावकारी समन्वय गर्नुपर्ने, सार्वजनिक कार्यक्रम सञ्चालन गर्ने सन्दर्भमा सुरक्षा व्यवस्था, विपद् व्यवस्थापन, कार्यक्रम सञ्चालन विधि लगायतका विषयसमेत समेट्ने गरी स्पष्ट कार्यविधि मापदण्ड तर्जुमा गर्नुपर्ने समितिको सुझाव छ।