धनपालथानको आगलागीमा १ बालिकाको मृत्यु, ९ घर जले

मोरङको धनपालथान गाउँपालिका– ७ मा आगलागी हुँदा एक बालिकाको मृत्यु गएको छ।

मोरङ– धनपालथान गाउँपालिकाको एउटा मुस्लिम टोलमा आगलागी हुँदा एक जना बालिकाको मृत्यु गएको छ।

वडा नं ७ स्थित कदमा मुस्लिम टोलमा भएको आगलागीमा स्थानीय मोहम्मद हनिफकी चार वर्षीया छोरी रेश्मा खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ।

कार्यालयका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको बताए। उनका अनुसार आगलागीबाट टोलका ९ घर जलेर नष्ट भएका छन्।

आगलागी नियन्त्रणका लागि रंगेली नगरपालिका, कानेपोखरी गाउँपालिका, बेलबारी नगरपालिका, पथरी शनिश्चरे नगरपालिका र विराटनगर महानगरपालिकाका दमकलका साथै स्थानीय बासिन्दा र सुरक्षाकर्मी परिचालित भएका थिए।