भोजपुरमा आगलागीबाट १७ घरसहित ३५ संरचना जले

इनामे सामुदायिक वनमा लागेको डढेलो बस्तीसम्म आइपुग्दा १७ वटा घर, आठ वटा पाली र १० वटा गोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

भोजपुर नगरपालिका-१२ स्थित पैंयापानी बस्तीमा लागेको आगो निभाउँदै नेपाल प्रहरीका जवान। तस्वीर : निरोज कोइराला/रासस

भोजपुर– भोजपुरमा आगलागीबाट घर, पाली र गोठ गरी ३५ संरचना नष्ट भएका छन्। जिल्ला प्रहरी कार्यालय भोजपुरको विवरणअनुसार सोमबार हावाहुरीसँगै लागेको आगोले १७ घर आठ पाली र १० वटा गोठ जलेर नष्ट भएका हुन्।

नजिकैको पारपानी टङ्टङ्गेडाँडास्थित इनामे सामुदायिक वनमा लागेको डढेलो बस्तीसम्म आइपुग्दा घरसहितका संरचनामा क्षति पुगेको हो। आगलागीबाट भोजपुर नगरपालिका–१२ पारपानीका स्थानीय शम्भु चापागाईंको पाली, सोभित श्रेष्ठको घर र पाली, गोमा दर्जीको घर, रामबहादुर कार्कीको घर र पाली, गोपीकृष्ण धमलाको पाली, रूद्रप्रसाद ढकालको घर र पाली, शेखर धमलाको घर, तीर्थप्रसाद सुवेदीको घर र पाली, चन्द्रप्रसाद सुवेदीको घर, रामबहादुर कार्कीको घर र पाली र गोविन्द चापागाईंको पाली नष्ट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

यस्तै भोजपुरको रामप्रसाद राई गाउँपालिका– ४, दलगाउँ केराबारीमा चार घर जलेर नष्ट भएको छ भने दुई वटा गाईगोठ र तीन वटा सुँगुरसमेत जलेर मरेका छन्। स्थानीय कुमार राईको ढुंगामाटाले बनेको घर, गजेन्द्र राईको घर, उमेश राईको घर र मानबहादुर तामाङको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

यस्तै, चण्डीराज राईको गाईगोठ, कोपिला राईको गोठ पनि नष्ट भएको छ। बाँसघारीमा लागेको आगो सल्कँदै बस्तीसम्म पुग्दा क्षति भएको हो।

जिल्लाको पूर्वी अरुण गाउँपालिका–७, सिक्रेटारस्थित जलसिंह सामुदायिक वनमा लागेको आगोले स्थानीय दत्तनारायण श्रेष्ठको ढुङ्गा माटोले बनेको घर र गाईगोठ र राजकुमार तामाङको घर जलेको छ भने भेषराज कोइरालाको गोठ, मित्रबहादुर राईको गोठ, विक्रम राईको गोठ पनि जलेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

अरुण गाउँपालिकाको वडा नं ४ मा वनमा लागेको डढेलो सल्कँदा स्थानीय सीतादेवी भुजेलको ढुंगामाटोले बनेको घर र गोठ जलेको छ भने दानबहादुर भुजेलको खाली घर र कमला देवी भुजेलको फुसको छानो भएको गोठसमेत जलेर नष्ट भएको अस्थायी प्रहरी पोस्ट चरम्बीले जनाएको छ।

आगलागीबाट भोजपुरको दक्षिण हतुवागढी गाउँपालिका वडा नं ६, माटोखानीका जयनारायण राईको ढुंगा र माटोले बनेको एकतले घर, गोठ नष्ट भएको छ भने तीन वटा बाख्रासमेत जलेर मरेका छन्।