झन्डै १५ अंकले घटेको शेयरबजारमा कारोबार रकम भने बढ्यो

१३ उपसमूहमध्ये आज ३ उपसमूहको परिसूचक सामान्य बढ्दा १० उपसमूहको घटेको छ।

काठमाडाैँ– पछिल्ला ३ कारोबार दिनदेखि घटिरहेको नेप्से बुधबार पनि ओरालो लागेको छ। आज नेप्से परिसूचक १४.८८ अंक घटेर २ हजार ६८२.१५ विन्दुमा झरेको छ।

नेप्से घटे पनि कारोबार रकम भने बढेको छ। मंगलबार ४ अर्ब ३४ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज ३११ स्टकको ५४ हजार ६२२ पटकको कारोबारमा ५ अर्ब १४ करोड ३९ लाख ९७ हजार रुपैयाँबराबरको ९५ लाख ८३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

मिथिला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ९.३९ प्रतिशतले बढेको छ। त्यस्तै, गरिमा समृद्धि योजनाको इकाईमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ भने भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको करिब साढे ७ प्रतिशत र ग्रीन डेभलपमेन्ट बैंकको ७ प्रतिशत बढेको छ। कारोबारमा आएको सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने सर्वाधिक ९.२० प्रतिशत घटेको छ।

१३ उपसमूहमध्ये आज ३ उपसमूहको परिसूचक सामान्य बढ्दा १० उपसमूहको घटेको छ। होटल तथा पर्यटन, म्युचुअल फन्ड र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.५३ प्रतिशतले घटेको छ। त्यस्तै, जीवन बीमा उपसमूहको परिसूचक करिब साढे १ प्रतिशत घटेको छ।