बीपी राजमार्गको क्षतिग्रस्त खण्ड स्थायी रूपमा पुनर्निर्माण गरिँदै

बाढी पहिरोबाट क्षतिग्रस्त भएको पाँच महिनापछि राजमार्ग पुनर्निर्माणका लागि ठेक्का आह्वान गरिएको हो। बाढीले रोशीदेखि नेपालथोकसम्मको करिब १३ किमीमध्ये साढे आठ किमी सडकपूर्ण रूपमा क्षतिग्रस्त भएको थियो।

काभ्रेपलान्चोक– असोज दोस्रो साताको बाढी पहिरोबाट क्षतिग्रस्त बीपी राजमार्गको विभिन्नखण्ड स्थायी रूपमा पुनर्निर्माण गर्ने प्रक्रिया अघि बढेको छ। दुई सडकखण्ड पुनर्निर्माणका लागि डिभिजन सडक कार्यालय भक्तपुर र सिन्धुलीले ठेक्का आह्वान गरिसकेका छन्। 

बाढी पहिरोबाट क्षतिग्रस्त भएको पाँच महिनापछि राजमार्ग पुनर्निर्माणका लागि ठेक्का आह्वान गरिएको हो। असोजमा रोशी खोलामा आएको बाढीले रोशीदेखि नेपालथोकसम्मको करिब १३ किलोमिटर सडकमध्ये साढे आठ किमी सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो। त्यसरी क्षतिग्रस्त सडकखण्डको पुनर्निर्माण गर्न चार प्याकेजमा काम गरिने जनाइएको छ। 

क्षतिग्रस्त सडकखण्डमध्ये सिन्धुलीतर्फ भने पहिलो प्याकेजका रूपमा गत फागुन २८ गते टेन्डर आह्वान गरिएको थियो। यसमा नेपालथोकदेखि वर्षेखोलासम्मको सडकखण्ड पर्नेछ। जसका लागि ७२ करोड रुपैयाँमा ठेक्का आह्वान गरिएको हो। यसमा सहभागी हुने कम्पनीले १ करोड ८२ लाख ५० हजार रुपैयाँ सुरक्षण राख्नुपर्ने जनाइएको छ। बाँकी क्षतिग्रस्त तीन प्याकेज सडकखण्ड भने काभ्रेपलान्चोकमा पर्नेछ। 

काभ्रेपलान्चोकतर्फको क्षतिग्रस्त सडक पुनर्निर्माणका लागि मंगलबार पहिलो टेन्डर आह्वान गरिएको हो। यसतर्फको आठ किमी सडक (डालाबेंसीदेखि–चारसयाबेंसीसम्म) पुनर्निर्माणका लागि २ अर्ब ५० करोड रुपैयाँ बजेट छुट्याइएको डिभिजन कार्यालयले जनाएको छ। यसमा आवेदन दिने निर्माण कम्पनीले ६ करोड ५० लाख रुपैयाँ सुरक्षणबापत राख्नुपर्ने छ।

फागुन ६ गते अर्थ मन्त्रालयले बीपी राजमार्ग पुनर्निर्माण गर्न ८ अर्ब ५० करोड रुपैयाँ स्रोत सहमति दिइसकेको छ। त्यसपछि आवश्यक प्रक्रिया पूरा गरेर बोलपत्र आह्वान गरिएको डिभिजन सडक कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए। उनका अनुसार काभ्रेपलान्चोकतर्फ बाँकी दुई टेन्डर पनि भक्तपुर कार्यालयले क्रमशः आह्वान गर्नेछ। 

सिनियर डिभिजनल इन्जिनियर योगेशका अनुसार दुई वर्षमा निर्माण सक्नेगरी तयारी भइरहेको छ। ठेक्का आह्वान गरिएका सडकखण्डमा ३० दिनसम्ममा आवेदन दिन सकिने छ। प्राविधिक र आर्थिक मूल्यांकन सकिएपछि करिब दुई महिनामा ठेक्का सम्झौता हुनेछ। पुनर्निर्मित सडकमा आसपाल्ट कङ्क्रिटसहित दुई लेनको सडक हुने सिनियर डिभिजनल इन्जिनियर योगेशले यागेशले बताए। यसअघि ‘इन्टरमिडियट लेन’को सडक थियो। 

उक्त राजमार्गअन्तर्गत क्षतिग्रस्त सडक स्थायी रूपमा निर्माण हुनुअघि आउँदो वर्षायाममा सडकमा नियमित यातायात सञ्चालनका लागि अस्थायी मर्मत कार्य भइरहेको छ। तीन साताअघि शुरू गरिएको यस कार्यलाई तीव्रता दिइएको छ। डिभिजन कार्यालयले राजमार्गअन्तर्गत क्षति पुगेको नमोबुद्ध नगरपालिकाको चौकीडाँडादेखि काभ्रेपलान्चोक र सिन्धुलीको सीमास्थल नेपालथोकसम्मको अस्थायी मर्मतकार्यलाई तीव्र पारिएको जनाएको छ। 

बाढीले काभ्रेपलान्चोकको रोशी क्षेत्रमा ठूलो क्षति पुर्‍याएकाले सोही क्षेत्रलाई प्राथमिकता दिई मर्मतकार्य भइरहेको जनाइएको छ। हाल लोडर र डोजर प्रयोग गरी सडक मर्मतको कामलाई तीव्रता दिइएको छ। सिनियर डिभिजनल इन्जिनियर योगेशका अनुसार हाल बगरमा गरिएको डाइभर्सन तथा सडकको पुरानै स्थानलाई अवस्था हेरी दुईदेखि तीन मिटरसम्म ग्राभेल भरेर उठाउने तथा अफ्ठ्यारो स्थानमा जाली भरेर उचाइ बनाउन थालिएको हो। 

क्षतिग्रस्त सडक चौडा पार्ने, सम्याउने तथा ग्राभेल भेरेर रोशी खोलालाई गहिर्‍याएर खोलाको सतहभन्दा करिब तीन मिटर उचाइ बनाउने काम भइरहेको छ। कुल १३ किलोमिटर क्षतिग्रस्त सडकमध्ये पहिलो चरणमा आठ किलोमिटर मर्मत गरिनेछ भने बाँकीको थप मर्मतका लागि योजना बनाइने छ। बाढीले रोशी किनारको सडकको अधिकांश भाग बगाएको थियो। 

राजमार्गको धुलिखेल–नेपालथोक र नेपालथोक–खुर्कोट सडकखण्ड अस्थायी रूपमा मर्मतका लागि सरकारले २१ करोड २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। बजेट कार्यान्वयनका लागि कामको ‘डिजाइन’ भइरहेको र डिजाइन सकिएपछि लागत विवरण बनाएर स्थायी रूपमा पुनर्निर्माण गर्न ठेक्का प्रक्रियामा जाने सिनियर डिभिजनल इन्जिनियर योगेशले बताउनुभयो। हाल काठमाडौँबाट रामेछाप, सिन्धुलीलगायत पूर्व जाने यातायातका साधन खोलाको बगरमा रहेको कच्ची सडक प्रयोग गरिरहेका छन्।