नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम

बिहीबार नेप्से परिसूचक १२.३८ अंकले घटेर २६६९.७६ को विन्दुमा कायम भएको छ।

काठमाडौँ– शेयर बजारमा पाँच कारोबार दिनयता गिरावटको क्रम जारी छ। साता कारोबारको अन्तिम दिन बिहीबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ। यो साताको सबै कारोबार दिन नेप्से परिसूचक ओरालो लागेको हो। यस दिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ।

नेप्सेका अनुसार बिहीबार परिसूचक १२.३८ अंकले घटेर २६६९.७६ को विन्दुमा कायम भएको छ। यस दिन ३१२ कम्पनीको ९५ लाख ९९ हजार ३४३ कित्ता शेयर ५५ हजार ४७६ पटक खरिद बिक्री हुँदा चार अर्ब ५६ करोड १३ लाख ११ हजार २८२ रुपैयाँ बराबरको कारोबार भयो। यसअघि मंगलबार पाँच अर्ब १४ करोड ३९ लाख ९७ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको हो।

यस दिनको कारोबारमा व्यापार समूहको उपसूचक बढेको छ भने भने बाँकी समूहको उपसूचक घटेका छन्। बैंकिङ ०.४८, विकास बैंक ०.१८, वित्त १.२६, होटल तथा पर्यटन ०.४८, जलविद्युत् ०.६९, लगानी ०.२२, जीवन बीमा ०.०४ उत्पादन तथा प्रशोधन ०.७०, लघुवित्त ०.६६, म्युचुअल ०.३९, निर्जीवन बीमा ०.८९ र अन्य समूहको उपसूचक ०.५९ प्रतिशतले घटेको छ।

यस दिनको कारोबारमा मिथिला लघुवित्त र भूगोल इनर्जीको शेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ। त्यस्तै, डोल्टी पावर कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै ७.५३ प्रतिशतले बढेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स लिमिटेडको २८ करोड २१ लाख २८ हजार २३७ बराबरको शेयर किनबेच भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा सबैभन्दा धेरै घलेम्दी हाइड्रो लिमिटेडको चार लाख ४५ हजार ८५३ कित्ता शेयर किनबेच भएको छ।