१ अर्ब राजस्व उठाउने मालपोतको भवन भूकम्पको जोखिममा

विसं २०७२ को भूकम्पमा रातो स्टिकर टाँसिएको मालपोत कार्यालय भरतपुरको भवन हालसम्म पुनर्निर्माण हुन सकेको छैन।

चितवन– विसं २०७२ को भूकम्पमा रातो स्टिकर टाँसिएको मालपोत कार्यालय भरतपुरको भवन हालसम्म पुनर्निर्माण हुन सकेको छैन। उक्त जोखिमपूर्ण भवनमा बसेर यहाँका कर्मचारीले वार्षिक एक अर्ब रुपैयाँ हाराहारीमा राजस्व उठाउँदै आएका छन्।

बाइपास सडकसँगै ६ कट्ठा जमिनमा रहेको जीर्ण भवनमा टिनमुनि अभिलेख राखिएका छन्। कार्यालयका प्रमुख रमेशप्रसाद गौतमका अनुसार भूकम्पपछि ठाउँ–ठाउँमा चर्किएकाले भवन प्रयोग गर्दा उच्च जोखिम हुने भन्दै रातो स्टिकर टाँसिएको छ। 

विसं २०५२ मा निर्माण गरिएको यो भवनमा ठाउँ ठाउँमा टिनले छाएर कार्यालयको काम गरिँदै आइएको छ। कार्यालयको नजिकै १७ कट्ठा जग्गासमेत छ। सोही जग्गामा नयाँ भवन बनाएर पार्किङसहितको कार्यालय बनाउन पटक–पटक भूमि व्यवस्था तथा अभिलेख विभागमा पत्र पठाइएको प्रमुख गौतमले बताए। उहाँले भन्नुभयो “हामीले विभागमा लेखेर पठाएका छौँ। तर हालसम्म नयाँ भवन बन्न सकेको छैन ।”

कार्यालयमा ४२ जना कर्मचारी छन्। यहाँबाट चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ८७ करोड ७९ लाख ९० हजार राजस्व संकलन भइसकेको प्रमुख गौतमले जानकारी दिए। उनका अनुसार यस अवधिमा २१ हजार ५०१ जनाले सेवा लिइसकेका छन्। 

भरतपुर महानगरपालिकाका १९ वटा वडासँगै रत्ननगर र कालिका नगरपालिका एवं इच्छाकामना गाउँपालिकाका नागरिकलाई यहाँबाट सेवा दिने गरिएको छ। गौतमका अनुसार एक वर्षमा एक अर्बभन्दा बढी राजस्व यहाँ संकलन हुन्छ। संकलित राजस्वमध्ये पुँजीकर लाभकरबाहेक ६० प्रतिशत स्थानीय तह र ४० प्रतिशत प्रदेशमा जाने गर्दछ।

“हाम्रा अत्यन्तै महत्त्वपूर्ण अभिलेख भुईंको टहरो र छतको टहरोमा राख्न बाध्य छौँ,” उनले भने। पानीले अभिलेख भिज्ने डरसँगै सेवाग्राहीको उच्च चापसँगै जोखिम भवनमा काम गर्नुपर्दा समस्या भएको प्रमुख गौतमले बताए। 

यहाँ आउने सेवाग्राहीले उच्च सवारी चाप भएको सडकको छेउमा पार्किङ गर्न बाध्य छन्। “नयाँ भवन बनाउन सकेमा पार्किङको समस्या हुँदैन,” उनले भने। भूकम्पका बेला जोखिममा परेका धेरै भवन पुनर्निर्माण गरिए पनि यस भवनलाई बनाउनेतर्फ सम्बन्धित निकायबाट पहलकदमी नहुँदा सेवाग्राही र सेवाप्रदायक जोखिममा परेका छन्।