सांसदले जातीय विभेदका घटना, आगलागी, बाढी पहिरोको जोखिम, निर्माण सामग्रीको मूल्यवृद्धि नियन्त्रण, कृषि मलको व्यवस्थापनलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
काठमाडौँ– सांसदले जातीय विभेदका घटना, आगलागी, बाढी पहिरोको जोखिम, निर्माण सामग्रीको मूल्यवृद्धि नियन्त्रण, कृषि मलको व्यवस्थापनलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभामा बिहीबारको बैठकको शून्य समयमा सांसद बिना लामाले विगत दुई सातादेखि फलामे डन्डीको अस्वाभाविक मूल्यवृद्धि भएको तथा शिथिल आर्थिक अवस्थालाई जागृत गराउनुपर्नेमा निर्माणको मुख्य सिजनमा यस कार्यले समग्र निर्माण क्षेत्र प्रभावित भएको बताइन्। उनले डन्डीमा भएको मूल्यवृद्धिको छानबिन गरी अस्वाभाविक मूल्यवृद्धि गर्नेमाथि कारबाही गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइन्। सांसद लामाले सिमेन्टमा पनि अत्यधिक मूल्यवृद्धि गरिएको भन्दै नियन्त्रणको माग गरिन्।
सांसद ज्ञानेन्द्रबहादुर कार्कीले देशका युवा शक्ति नेपालको उज्ज्वल भविष्य भए पनि हरेक वर्ष हजारौँको सङ्ख्यामा रोजगारीका लागि बिदेसिनुपर्ने अवस्था रहेको भन्दै युवा पलायन रोक्न र प्रभावकारी नीति अवलम्बन गर्न सरकारसमक्ष माग गरे। सांसद सन्तोष चालिसेले काठमाडौँका धेरै सडकमा अत्यधिक ट्राफिक जामका कारण नागरिकले सास्ती पाइरहेको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए। उनले सुन्दरी जलबाट बाग्मती करिडोर खोलेर गुहेश्वरीसम्म आएको तथा नेपाल ट्रस्टको १०० मिटर पर्खाल भत्काउन नसक्दा गुहेश्वरीदेखि तिलगंगासम्मको ट्र्याक बन्द भएको भन्दै चाँडै समस्या समाधान गर्न आग्रह गरे।
सांसद विनिताकुमारी सिंहले जनता आवास कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७९/८० मा सिरहामा ४८८ घर निर्माणका लागि सम्झौता भएको र उक्त घर निर्माणका लागि पहिलो किस्ताको रकम मात्रै दिइएको र बाँकी किस्ता वितरण नहुँदा पीडित खुला आकाशमुनि बस्न बाध्य बनेको भन्दै अभिलम्ब बाँकी किस्ता रकम उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराइन्।
सांसद शक्तिबहादुर बस्नेतले सिरहाको औरही गाउँपालिकामा भएको जातीय विभेदसम्बन्धी घटनाको निन्दा गर्दै छानबिन गरी दोषी उपर कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरे। सांसद शान्ति विकले शुक्रबार २१ मार्च अन्तर्राष्ट्रिय रङभेद उन्मूलन दिवस मनाउने सन्दर्भ चलिरहँदा सिराहा औरहीको घटनाले निकै मर्माहत तुल्याएको भन्दै घटनामा संलग्नलाई अभिलम्ब कारबाहीको माग गरे। उनले संविधानको धारा १६, १७, १८, २० र २४ लाई कार्यान्वयनमा लैजान सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए। सांसद सन्तोष परियारले सिरहाको औरही गाउँपालिका–५ का दीपक मरीको परिवारमाथि घटेको जातीय विभेदको घटनाले अन्तर्राष्ट्रिय मानव अधिकारप्रतिको प्रतिबद्धता र कानूनी व्यवस्थाको खिल्ली उडाएको भन्दै घटनाको तत्काल छानबिन गरी दोषीलाई कारबाही गर्न गृह मन्त्रालयको ध्यानाकर्षण गराए।
सांसद शान्ति चौधरीले २१औँ शताब्दीमा पनि जातीय विभेदका घटना घटिरहनु र संघीय राजधानीमा समेत यस्ता घटना हुनु दुःखद रहेको भन्दै विभेद उन्मूलनका लागि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइन्। सांसद सुशीला सिर्पाली ठकुरीले सिरहाको औरही घटनाको घोर निन्दा र भर्त्सना गर्दै दोषीलाई कारबाही र पीडितलाई राहत उपलब्ध गराउन माग गरिन्।
सांसद हर्कमाया विश्वकर्माले रङभेद उन्मूलन दिवस मनाइरहँदा दलित समुदायले विभिन्न विभेदका घटना भोग्नु परिरहेको भन्दै सिरहाको औरही गाउँपालिकामा भएको घटनाको निन्दा गर्दै घटनामा संलग्न दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारसमक्ष माग गरिन्।
सांसद शिव नेपालीले खेलाडीको संरक्षणका लागि सरकारले विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याए। उनले राष्ट्रिय लिग पुनः सञ्चालन गर्न र फुटबल खेललाई व्यावसायिक र दीर्घकालीन बनाउने नीति ल्याउन माग गरे। सांसद शोभा ज्ञवालीले देशमा दलीय व्यवस्थाप्रति वितृष्णा फैलाउने काम भइरहेको भन्दै लोकतन्त्र कसैको निगाहबाट नभई जनताको संघर्ष र बलिदानबाट प्राप्त भएकाले यसको विकल्पका रूपमा राजतन्त्रको सपना नदेख्न सम्बन्धित पक्षलाई आग्रह गरिन्।
सांसद सरस्वती सुब्बाले संस्थागत रूपमा राजतन्त्र अन्त्य भइसकेको अवस्थामा फेरि राजा फर्काउने कुरा संविधान विपरीत रहेको भन्दै कसैलाई राजा नै चाहिने भए आगामी २०८४ को निर्वाचनमार्फत जनमत लिएर आउन सम्बन्धित पक्षलाई आग्रह गरिन्।
सांसद सहराज अहमद फारुकीले नेपालकै पुरानामध्येको कपिलवस्तुको शिवराज अस्पतालमा चिकित्सकलगायत जनशक्ति नहुँदा त्यस क्षेत्रका जनताले सास्ती बेहोर्नुपरेको भन्दै जनशक्ति व्यवस्थापन गरी सेवालाई प्रभावकारी बनाउन माग गरे। सांसद सरिता भुसालले पश्चिम नवलपरासीको भारतीय सिमासँग जोडिएका पाल्हीनन्दन, सरावल गाउँपालिका झरही, धनेरालगायत स्थानमा लामो समयदेखि बाढी तथा डुबानले सास्ती बेहोर्नुपरेका भन्दै दिगो तटबन्ध गरी नागरिकलाई सुरक्षित गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइन्।
सांसद सीताकुमारी रानाले कारागारमा रहेका कैदीबन्दीको सेवा सुविधा निरन्तरताको सुनिश्चित गर्न माग गरिन्। सांसद सुदन किरातीले यही चैत ४ गते हावाहुरीका कारण भोजपुरका विभिन्न क्षेत्रमा आगलागी हुँदा १९ घर जलेर नष्ट भएकाले नागरिक घरबारविहीन भएका भन्दै पीडितलाई उचित राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसमक्ष माग गरे।
सांसद सुनिता बरालले नेपालमा सडक दुर्घटना गम्भीर समस्या बनेको तथ्यांक प्रस्तुत गर्दै सडक दुर्घटना न्यूनीकरणका लागि पहलकदमी लिन सरकारको ध्यानाकर्षण गराइन्।
सांसद सुरेन्द्रराज आचार्यले गर्मीयाम शुरू भएसँगै हरेक वर्ष लाग्ने आगलागी र डढेलोका कारण गाउँबस्ती, वन पैदावार तथा वन्यजन्तुको विनाश भइरहेको भन्दै आगलागी नियन्त्रणको प्रभावकारी व्यवस्था गर्न माग गरे। साथै उनले केही दिनअघि कपिलवस्तुको बुद्धभूमि–७ मा आगलागी हुँदा सात घर जलेर नष्ट भएका भन्दै पीडितलाई राहत र बसोबासको व्यवस्था मिलाउन सरकारसमक्ष माग गरे।
सांसद सुहाङ नेम्वाङले इलामका चुलाचुली माई, देउमाइलगायत क्षेत्रका विद्यालयमा उचित कक्षाकोठा, पुस्तकालय र आधुनिक प्रविधिको अभाव रहेकाले विद्यार्थीको सिकाइमा गम्भीर असर परेको भन्दै शैक्षिक केन्द्रको विकास, पूर्वाधार निर्माण, आधुनिक पाठ्यक्रम सुधार र गुणस्तरीय उच्च शिक्षाको प्रबन्ध गर्न आग्रह गरे।
सांसद सूर्यप्रसाद ढकालले राप्ती सुनाहरीलगायत क्षेत्रमा डुबानको समस्या समाधान गर्न बर्खा शुरू नहुँदै तटबन्धको व्यवस्था गर्न माग गर्नुभयो । सांसद सूर्यबहादुर क्षेत्रीले असुरक्षित बसोबासी, बाढी पहिरोबाट पीडित नागरिकलाई राहत दिन, सुरक्षित आवास निर्माण गर्नका लागि प्युठानमा दुई हजार ३२७ जनाको सिफारिस गरिएकामा यस वर्ष ४४५ मात्रै समेटिएको भन्दै प्रभावित सबै नागरिकलाई सुरक्षित आवास कार्यक्रममा जोड्न सम्बन्धित निकायको ध्यानाकर्षण गराए।
सांसद सूर्यमान तामाङ दोङले काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, रामेछापलगायत जिल्लामा गत असोजको बाढी पहिरोले क्षतिग्रस्त रहेको र त्यस क्षेत्रमा खेतीको समयमा कृषि मलको अभाव रहेको भन्दै समयमै समस्याको समाधान गर्न सरकारको ध्यानाकर्षण गराए।
सांसद सोविता गौतमले कागेश्वरी मनोहरा नगरपालि– ८ मा तीन वर्षअघि गएको पहिरोले सडक किनारका घर जोखिममा परेको बाटो अहिलेसम्म मर्मत नभएको भन्दै जोखिममा रहेका घरको संरक्षण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराए। सांसद सञ्जयकुमार गौतमले स्व गिरिजाप्रसाद कोइरालाको १५औँ स्मृति दिवसको उपलक्षमा हार्दिक श्रद्धाञ्जली अर्पण गरे। उनले विसं २०७२ को बाढीले बर्दियाको विभिन्न क्षेत्रमा क्षति पुगेको, धेरै संख्यामा घर डुबानमा परेको र परिवार विस्थापित भएको भन्दै बबै नदी किनारमा तटबन्धको कामसम्बन्धी आयोजनाको डीपीआर बनिसकेको अवस्थामा आयोजनाको कामलाई चाँडो अघि बढाउन सरकारसमक्ष माग गरे।
सांसद हितबहादुर तामाङले गत साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी मृत्यु हुने १८ जनामध्ये तीन जना आफन्त गुमाएका प्रकाश खतिवडाले बारम्बार घटनाबारे जिज्ञासा राख्दा पनि कुनै जवाफ नपाएको भन्दै उक्त दुर्घटनाको सत्यतथ्य बाहिर ल्याउन र पीडित परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न माग गरे। सांसद हितराज पाण्डेले १२ सय मेगावाट क्षमताको जलाशययुक्त बूढीगण्डकी आयोजनाको निर्माण अझै सुरु हुन नसकेकाले त्यस क्षेत्रका जनतामा निराशा उत्पन्न भएको भन्दै उक्त आयोजना आगामी आर्थिक वर्षदेखि निर्माण अगाडि बढाउन सरकारसमक्ष माग गरे।
सांसद हेमराज राईले भोजपुरको उत्तरी साल्पा सिलिचोक जोड्ने सडकमार्ग बजेट अभावले अलपत्र परेको र जनताले निकै शास्ती बेहोरेको भन्दै जिल्लाको उत्तर–दक्षिण जोड्ने सडक चाँडो सम्पन्न गर्न, जिल्लामा ट्रमा सेन्टर स्थापना गर्न र कात्तिकेघाट, सतीघाट र अँधेरीघाटमा पक्की पुल निर्माण गर्न सरकारसमक्ष माग गरे।
सांसद हृदयराम थानीले देशको कुल जनसंख्याको ९८ प्रतिशतमा विद्युत् पहुँच पुगेको भनिए पनि कर्णाली प्रदेशका ५७ प्रतिशत घरधुरीमा मात्र विद्युत्को पहुँच पुगेको तथा कर्णालीका १० जिल्लामा अझै विद्युत् नपुगेको भन्दै त्यहाँ विद्युत्को पहुँच सुनिश्चित गर्न माग गरे। सांसद ज्ञानबहादुर शाहीले विगत ३८ दिनदेखि धनुषाको सबैला नगरपालिकाका– ११ का वडाध्यक्ष सुशासनको अनशनमा रहेको भन्दै उनको जीवन रक्षाको माग गरे। सांसद ज्ञानु बस्नेतले मुलुकलाई लोडसेडिङको अवस्थामा लैजान नहुने धारणा राखे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
