गुल्मीमा डोजर, चारपांग्रे सवारी, एम्बुलेन्स मोटरसाइकललगायतका सरकारी सवारीसाधन प्रयोगविहीन अवस्थामा छन्। तीमध्ये कतिपयको सरकारी कार्यालयमा अभिलेखसमेत छैन।
तम्घास– गुल्मीमा करोडौँ मूल्य पर्ने सरकारी सवारी अलपत्र परेका छन्। जिल्ला समन्वय समिति, नेपाल टेलिकम, कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री आधुनिकीकरण परियोजना, वन कार्यालय, गुल्मी अस्पताललगायतका कार्यालयमा सरकारी सवारीसाधन अलपत्र अवस्थामा रहेका हुन् ।
मोटरसाइकल, डोजर, चारपांग्रे सवारी, एम्बुलेन्स लगायतका सवारी प्रयोगविहीन अवस्थामा छन्। तीमध्ये कतिपयको सरकारी कार्यालयमा अभिलेखसमेत छैन।
२०६८ सालदेखि नेपाल टेलिकम, गुल्मीको कार्यालय अगाडि चेनवाला बुल्डोजर अलपत्र छ। डोजरका अधिकांश काम लाग्ने सामग्री भने चोरी भएका छन् भने बाँकी भाग पनि झारपातले पुरिएको अवस्थामा रहेको टेलिकमका निमित्त प्रमुख शंकर मरासिनीले बताए।
त्यस्तै, जिल्ला समन्वय समितिको प्रांगणमा चार वटा सवारी निकै जीर्ण र अलपत्र अवस्थामा थन्किएका छन्। समन्वय समितिको कुनामा बा १ झ ६६० र बा १ झ ६६८१ नम्बरको ल्यान्डरोभर कम्पनीका गाडी थन्किएका छन्। दुवै गाडीको मूल्य तत्कालीन समयमा ८० लाख रुपैयाँको अनुमान गरिए पनि हालको मूल्य भने करिब तीन करोड पर्ने बताइएको छ।
समन्वय समितिकै अगाडिपट्टि बा १ झ ६६० नम्बरको गाडी पनि प्रयोगविहीन अवस्थामा छ। करिब नौ लाख खर्चिए सो गाडीलाई पुनः सञ्चालनमा ल्याउन सकिने बताइन्छ। सो गाडी हालको मूल्य करिब एक करोड ५० लाखभन्दा बढी पर्ने अनुमान गरिएको छ। समन्वय समितिकै प्राङ्गणमा नम्बर प्लेट नै नभएको कालो रङको अर्को गाडी पनि मिल्किएको अवस्थामा छ। ल्यान्डरोभर कम्पनीको उक्त गाडीको हालको नयाँ मूल्य डेढ करोड परे पनि खरिद मूल्यको अभिलेख भने कतै भेटिँदैन।
गुल्मीमा डोजर र चारपांग्रे सवारी मात्र होइन, सरकारी मोटरसाइकलको पनि उस्तै अवस्था छ। समन्वय समितिमै यमाहा कम्पनीको दुई लाख ५० हजार मूल्यको मोटरसाइकल प्रयोगविहीन अवस्थामा छ। जिल्ला वन कार्यालयमा बा १ ब ७६४५ नम्बरको होन्डा कम्पनीको मोटरसाइकल थन्किएर बसेको छ। उक्त मोटरसाइकलको मूल्य हालको अवस्थामा करिब ६ लाख पर्छ।
कृषि ज्ञान केन्द्रका पाँच र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका तीन मोटरसाइकल अलपत्र छन्। ज्ञान केन्द्रको नाममा रहेको लु १ ब ९४७, बा २ ख १६७७, लु १ ब ९४७, लु १ ब २७८ र लु १ ब २७९ नम्बरका मोटरसाइकल एकदमै जीर्ण अवस्थामा छन्। अधिकांश यमाहा कम्पनीका मोटरसाइकलको हालको मूल्य तीन/तीन लाखका दरले हिसाब गर्दा करिब १५ लाखका मोटरसाइकल ज्ञान केन्द्रका नाममा अलपत्र रहेको ज्ञान केन्द्रका सूचना अधिकारी शिव बन्जाडेले जानकारी दिए। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका नाममा बा २ ख ६२८८, लु १ ब ९०० र बा १ ब ९३९९ नम्बरका यमाहा कम्पनीका मोटरसाइकल प्रयोगविहीन छन्।
गुल्मी अस्पतालका दुई एम्बुलेन्समा घाँस उम्रिएको छ। सिमिचौरमा सात वर्षपहिले दुर्घटनामा परेको लु १ झ २७९ नम्बरको एम्बुलेन्सलाई मर्मत गर्नुको सट्टा चौरमा राखिएको छ। अस्पतालमै रहेको लु १ झ २३५ नम्बरको एम्बुलेन्सको थप विवरण कतै छैन। दुवै एम्बुलेन्सको हालको मूल्य भन्सार छुट गर्दा करिब २५ लाख रुपैयाँ पर्छ। उक्त एम्बुलेन्सको व्यवस्थापनबारे कसैले चासो नदिँदा अलपत्र जस्तै छन्।
गुल्मीको मदाने गाउँपालिका सिर्सेनी र पुर्कोट दहमा पनि सरकारी नम्बर प्लेटका दुई एम्बुलेन्स प्रयोगविहीन अवस्थामा छन्। पुर्कोट दहमा दुई वर्ष र सिर्सेनीमा चार महिनादेखि एम्बुलेन्स प्रयोगविहीन अवस्थामा पुगेको स्वास्थ्य शाखा प्रमुख तीर्थ पन्थीले बताए। यसरी हेर्दा पनि गुल्मीमा करिब आठ करोड ५० लाख मूल्यभन्दा बढीका सरकारी सवारीसाधन अलपत्र अवस्थामा छन्।
जिल्ला प्रशासन कार्यालय गुल्मीका अनुसार हाल जिल्लामा लिलाम गर्नुपर्ने अवस्थामा चार वटा गाडी र ३८ वटा मोटरसाइकल छन् । जिल्लामा ल्यापटप, कम्प्युटरलगायत सामग्री पनि लिलाम गर्नुपर्ने अवस्थाका भएकाले तिनीहरूको लिलामी प्रक्रिया अगाडि बढिसकेको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिए। आर्थिक कार्यविधि नियमावली २०६४ को परिच्छेद ७ मा लिलाम बिक्रीसम्बन्धी व्यवस्था गरिएको छ। “लिलामी प्रक्रिया शुरू गर्न हाम्रो कानूननले नदिँदो रहेछ,” उनले भने, “जिल्लाका सवारीको लिलामी गर्न संघीय सरकारले नै कानून बनाउनुपर्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
