आगलागीका घटनामा ६ को मृत्यु, ३८ परिवार विस्थापित

एक महिनाको अवधिमा देशका विभिन्न क्षेत्रमा लागेको आगलागीबाट ४० करोड ४८ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

काठमाडौँ– एक महिनाको अवधिमा देशका विभिन्न क्षेत्रमा लागेको आगलागीबाट ६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक पुरुष, चार महिला र एक बालक रहेका छन्। ती आगलागीका घटनमा ३० पुरुष, २६ महिला, ६ बालक र तीन बालिका घाइते भएका छन्।

एक महिनामा देशभर ५०१ आगलागीका घटना भएका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए।  

आगलागीबाट ८७ घर र ५७ गोठमा क्षति भएको छ। आगलागीबाट १४६ पशुचौपाया मरेका छन्। घटनापछि ३८ परिवार विस्थापित भएका छन्। 

आगलागीबाट ४० करोड ४८ लाख रुपैयाँ बराबरको क्षति भएको छ। विभिन्न स्थानमा लागेको आगलागी नियन्त्रणका लागि तीन हजार ६१४ प्रहरी परिचालन गरिएको उनले जानकारी दिए।

सबैभन्दा बढी कोशी प्रदेशमा १३५ आगलागीका घटना भएका थिए। मधेशमा १०५, बागमतीमा ४४, काठमाडौँ उपत्यकामा ४९, गण्डकीमा ३३, लुम्बिनीमा ६४, कर्णालीमा ३० र सुदूरपश्चिममा ४१ आगलागीका घटना घटेका प्रवक्ता आचार्यले जानकारी दिए।

वर्षा कम भएको र सुक्खा मौसमका कारण देशका ठाउँ–ठाउँमा आगलागीका घटना भइरहेका छन्। अब आगलागीका घटना बढ्ने भएकाले सचेत हुन गृह मन्त्रालयले सबैमा अनुरोध गरेको छ।