एउटै गाईको मूल्य ६६ करोड, कस्तो प्रजाति हो ओङ्गोल ?

ओङ्गोल जातको यो गाई गत फेब्रुअरीमा ब्राजिलमा भएको लिलामीमा संसारको सबैभन्दा महँगो गाईको रूपमा बिक्री भएको थियो।

फाइल तस्वीर: ओङ्गोल जातको गाई

काठमाडाैँ– भारतको आन्ध्र प्रदेशमा पर्ने ओङ्गोल गाउँ यतिबेला चर्चामा छ। यस गाउँको रैथाने गाई ब्राजिलको बजारमा ४.८ मिलियन अमेरिकी डलर (६६ करोड रुपैयाँ) मा बिक्री भएपछि यसको चर्चा चुलिएको हो।

यो ओङ्गोल जातको गाईलाई ब्राजिलमा भियाटिना-१९ नामले चिनिन्छ। जुन्, गत फेब्रुअरीमा ब्राजिलमा भएको लिलामीमा संसारको सबैभन्दा महँगो गाईको रूपमा बेचिएको थियो। यसअघि पनि ब्राजिलमा गत वर्षको लिलामीमा यस जातको गाई ४ मिलियन अमेरिकी डलरमा बिक्री भएको थियो।

आन्ध्र प्रदेशको प्रकाशम जिल्लाका बासिन्दाहरू, विशेष गरी करावडका बासिन्दाहरूले गाईको यति उच्च मूल्य पाउँदा खुशी व्यक्त गरेका छन्। करावड गाउँ प्रकाशम जिल्लाको सदरमुकाम ओङ्गोलबाट लगभग १२ किलोमिटर टाढा छ।

यस गाउँका पोलावरपु चेन्चुरमैयाले सन् १९६० मा ब्राजिलका एक व्यक्तिलाई यो ओङ्गोल जातको गाई र गोरु बेचेका थिए। चेन्चुरमैया आफ्नो गाई अन्तर्राष्ट्रिय बजारमा यति उच्च मूल्यमा बिक्री भएकोमा खुसी छन्।

पोलावरपु वेंकटरमैया गाउँका पूर्व सरपंच हुन्। उनी गाईको कारणले आफ्नो राज्य र देशको नाम टाढा-टाढासम्म प्रसिद्ध हुँदै गइरहेको बताउँछन्। ओङ्गोल नस्लको अनुसन्धान गर्ने डा. चुन्चु चेलामियाले बीबीसीलाई भने, "टेइको नामक एक व्यक्तिले पोलावरपु हनुमानबाट साठी हजार रुपैयाँमा एउटा साँढे किनेर ब्राजिल लगे। उनले यसको वीर्य संरक्षण गरे। यो अझै पनि ब्राजिलियनहरूसँग छ।"

८८ वर्षीय चेलामिया भन्छन्, "मैले त्यो साँढे पनि देखेको छु। उसले दिल्लीमा आयोजित पशु मेलामा पहिलो स्थान हासिल गरेको थियो। त्यतिबेलाका प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूले पनि उसलाई बधाई दिएका थिए। त्यसैले ब्राजिलियनहरूले उसलाई किनेका थिए।"

जनावर अनुसन्धान केनद्र 'लाम फार्म'का प्रमुख वैज्ञानिक डा. मुथारावका अनुसार आन्ध्र प्रदेशमा ओङ्गोल जातका चार लाख जनावरहरू छन्। ब्राजिलमा रहेका कुल २२ करोड जनावरहरूमध्ये ८० प्रतिशत ओङ्गोल गाईवस्तु प्रजातिका छन्।

ओङ्गोल गाई होस् वा गोरु, यसको सेतो रंग, राम्रो आकारको शरीर र अग्लो ढाडले जो कोहीलाई पनि अचम्मित पार्छ। यस गाईको तौल लगभग १,१०० किलोग्राम हुन्छ।यसका गाई र साँढे धेरै बलिया मानिन्छन्, तिनीहरू सजिलै बिरामी पर्दैनन् र धेरै फुर्तिला हुन्छन्। यो अत्यधिक तातो क्षेत्रमा पनि आरामसँग बाँच्न सक्छ।

प्रकाशम जिल्ला यस प्रजातिको जन्मस्थान हो। ओङ्गोलका किसान संघका नेता दुग्गीनेनी गोपीनाथका अनुसार ओङ्गोल जातको उत्पत्ति दुई नदीहरू, गण्डलखलकामा र पालिरो बीचको क्षेत्रमा भएको हो।

गाईवस्तुमा धेरै निर्भर ब्राजिल जस्ता देशहरूमा ओङ्गोलका नयाँ प्रजातिहरू विकास भइरहेका छन्। डा. चेलामाया भन्छन्, "ब्राजिलका ८० प्रतिशतभन्दा बढी गाईवस्तुहरू ओङ्गोल नस्लसँग क्रसब्रेड गरिएका छन्। तिनीहरू मुख्यतया मासुको लागि प्रयोग गरिन्छ।"