पत्रकार माथवरसिंह बस्नेतको निधन

भक्तपुरको सूर्यविनायक–८ निवासी बस्नेतलाई बिहीबार राति घरमै हृदयाघात भएपछि काठमाडौँस्थित अन्नपूर्ण न्युरो अस्पताल भर्ना गरिएको थियो।

भक्तपुर– पत्रकार माथवरसिंह बस्नेतको निधन भएको छ। ७९ वर्षीय बस्नेतको शनिबार बिहान हृदयाघातबाट निधन भएको हो । 

भक्तपुरको सूर्यविनायक–८ निवासी बस्नेतलाई बिहीबार राति घरमै हृदयाघात भएपछि काठमाडौँस्थित अन्नपूर्ण न्युरो अस्पताल भर्ना गरिएको थियो। भेन्टिलेटरमा राखेर उपचार भइरहेको अवस्थामा उनको  निधन भएको हो। 

पार्थिव शरीरको पशुपतिस्थित आर्यघाटमा शनिबार नै दाहसंस्कार गरिने नेपाली कांग्रेस भक्तपुरका सचिव सुशील बस्नेतले जानकारी दिए। 

राष्ट्रिय समाचार समिति, गोरखापत्र संस्थान तथा प्रेस काउन्सिल नेपालको पूर्वअध्यक्ष बस्नेत पुनर्जागरण साप्ताहिकका संस्थापक सम्पादक हुन्। गणेशमान सिंहसँग नजिक भएर लामो समय राजनीतिमा सक्रिय रहेका उनी गणेशमान सिंह स्मृति बाटिकाकासमेत अध्यक्ष थिए। 

प्रजातन्त्र स्थापनाका लागि भएका आन्दोलनका क्रममा बस्नेतलाई आजीवन कारावासको सजाय दिइएको थियो। बस्नेत २०४६ सालमा प्रजातन्त्र प्राप्तिपछि जेल मुक्त भएका थिए। बस्नेतका श्रीमती, एक छोरा र एक छोरी छन्।