थाइल्यान्डले भन्यो– गाजामा नयाँ तनाव देखिनु निराशाजनक

थाइल्यान्डले सबै पक्षलाई पूर्ण संयम अपनाउन, शत्रुता अन्त्य गर्न तथा युद्धविराम र बन्धक सम्झौता कार्यान्वयनका लागि वार्ता पुनः शुरू गर्न आग्रह गरेको छ।

थाइल्यान्डले गाजामा युद्ध पुनः भड्किनु निराशजनक भएको बताएको छ। 

थाइल्यान्डको विदेश मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “गाजा क्षेत्रमा शत्रुताको पुनरागमनप्रति थाइल्यान्ड निकै चिन्तित र निराश छ।”

दक्षिणपूर्वी एशियाली राष्ट्रले सबै पक्षलाई पूर्ण संयम अपनाउन, शत्रुता अन्त्य गर्न तथा युद्धविराम र बन्धक सम्झौता कार्यान्वयनका लागि वार्ता पुनः शुरू गर्न आग्रह गरेको छ।

थाइल्यान्डले गाजामा रहेका एक जना थाईसहित बाँकी बन्धकहरूको रिहाइ र दुई जना थाई नागरिकको शव फिर्ता गर्न माग गरेको छ।

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गर्दा ३१ जना थाई नागरिकको अपहरण गरिएको थियो। जसमध्ये २३ जनालाई सोही वर्षको अन्त्यसम्ममा रिहा गरिएको थियो। मे महिनामा दुई जनाको मृत्यु भएको पुष्टि भएको थियो।

जनवरीमा भएको युद्धविरामको एक भागको रूपमा फेब्रुअरीमा अपहरणमा परेका थप पाँच थाई नागरिक घर फर्किएका थिए। एक जना अझै गाजामा जीवित रहेको जनाइएको छ।

जनवरी १९ मा भएको युद्धविरामपछिको शान्ति भंग भएपछि इजरायलले युद्धग्रस्त क्षेत्रमा नयाँ आक्रमण शुरू गरेको छ।

हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार जनवरीमा युद्धविराम लागू भएयताको अहिलेसम्मकै सबैभन्दा घातक आक्रमणमा परी ५०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ।