कालीप्रसादको आफ्नै ढब छ, आफ्नै ‘पना’ र ‘पारा’ छ। राजतन्त्रको राज चलेको बेला ‘मुटुमाथि ढुंगा राखी’ र ‘झरेको पातझैँ भयो’ जस्ता गीतमा अर्थभन्दा बढी ‘अनर्थ’ भेटिनु स्वाभाविक थियो।
‘म सामान्य व्यक्ति हुँ, एउटा साधारण मान्छे!’
हरेक पटकको भेटमा, अन्तर्वार्ता वा स्वलेखनमा यसै गरी एउटै निचोड सुनाउँछन् कालीप्रसाद रिजाल। आजभन्दा ५० वर्षअघि ‘आँखा छोपी नरोऊ भनी’ गीतको ख्यातिमाझ पनि उनी यसै भन्थे। ‘झर्यो जिन्दगी फुट्यो जिन्दगी’को निस्सारबोध सुनाइरहँदा पनि त्यसै भन्थे— म सामान्य व्यक्ति !
सामान्य पनि कतिसम्म भने धेरैअघि नारायण गोपाल (झरेको पातझैँ)देखि अम्बर गुरुङ (कहीँ आफ्नै भुमरीमा आफैँ पर्यौ कि)सम्म! अझ पछि आलोकश्री (बिहान उठ्नेबित्तिकै हिमाल देख्न पाइयोस्)देखि आभास (बाँच्ने क्रममा कहिलेकाहीँ त आफैँलाई नि ढाँट्यौँ होला)सम्म! यी सबै सबै कालीप्रसादको गीति–गेडा खोज्दै हिँड्ने शुभेच्छुकहरू रहे, भए। काली आफैँ भनसुन र नातासाइनो खोज्दै कतै गएनन्। संयोग यो छ कि आइतबार (चैत १०) बाट उमेरमा ८४ लाग्दै गरेका कालीप्रसाद रिजालले जीवनमा न कहिल्यै पछुतो राखे, न भ्रम बोकेरै हिँडे। उनैको स्वीकारोक्ति छ— समयको धारले जताजता हुत्त्यायो, उतै उतै बग्दै गएँ।
सुगम नेपाली गीत–संगीतको परख गर्न सकिने थलो ‘पलेँटी’मा यो पटक (चैत १५–१६) फेरि पनि आउन लागेका कालीप्रसादको आधा शताब्दी लामो समयको फेहरिस्त फेरि उत्रँदै छ। यस पटक पलेँटीमा कालीप्रसादका संगीत/रेकर्डमा नआएका नयाँ ८ वटा गीतसहित पुराना प्रचलित गीतहरू प्रस्तुत हुँदै छन्। “मेरा आफ्ना कुराहरू त आएकै छन्, कतै किताबमा वा कतै आफ्नै स्वघोषणाबाट”, पलेँटी रिहर्सलको मुखैमा कालिकास्थान अड्डामा भेटिएका कालीप्रसादले सुनाए, “तर गीत–संगीतको साइनो र आगत–विगत सम्झनासाथै म हुरुक्क भइहाल्छु, त्यही भएर फेरि जोडिन आएको छु।”
—निस्ठुरीले छाडेर गइहाली
—केही मीठो बात गर
—आँखा छोपी नरोऊ भनी
—झर्यो जिन्दगी, फुट्यो जिन्दगी
—झरेको पातझैँ भयो
—चरीले त छाडेर गइगयो
—यसै गरी बिताइदिन्छु दुई दिनको जिन्दगी
—कहिले सम्झेर रोएँ, कहिले भुलेर रोएँ
—यो त सब भन्ने कुरा न हो
—बनै खायो डढेलोले
—माया गर्नेको चोखो माया पनि देखियो
—कहीँ आफ्नै भुमरीमा आफैँ पर्यौ कि...!
यति गीत/शब्दको पृष्ठभूमि अघि सारेपछि कुराकानीको अनौपचारिक थालनीमा सोधिहालेँ, “तपाई किन सधैँ निराश–उदास? तपाईँका शब्दहरूमा अक्सर किन उदासी?”
कालीप्रसादले ख्याल गरेको खासै सुनिँदैन। शायद उनलाई हलुका कुरा, ख्यालठट्टा मन पर्दैन कि? अनि, कालीप्रसाद राम्रैसँग मुस्काएको र हाँसेको पनि देखिन्न, यो देख्नेका निम्ति त्यो एउटा ‘घटना’ हुनेछ। “होइन, त्यसरी छानेर वा रोजेर निराशा बुझाउने गीत/शब्द लेखेको होइन। यो मेरो नेचर हो, प्रकृतिजन्य स्वभाव”, उनले सुनाए, “सानोमा आमाबाबुसँग बस्न नपाएको र धेरैको माया–प्यार नपाएकोमा म एक प्रकारले ऐकान्तिक थिएँ, एक्लोपन धेरैजसो फिल गर्थे। त्यही कारण मेरा शब्दहरू पनि अलिक भिन्न लागेका हुन्, तर यी प्रायोजित–नियोजित होइनन्।”
धनकुटाको सिम्बुवा डाँडा हुँदै धरान र विराटनगर पुगेको रिजाल परिवारका सन्तान कालीप्रसादले बसाइँसराइ तथा पारिवारिक मेलोमेसो मिलाउने क्रममा धरानमा आफन्तसँग बस्नुपर्यो। बाबुआमाहरू विराटनगर र बाजेबज्यै तथा केही दाजुभाइ बनारसमा बस्ने गर्थे। त्यसले बाल मनोकांक्षाका कतिपय सपना मरेर जान्थे, भनेजस्तो स्वच्छन्द र स्वतःस्फूर्त बाल्यकाल रहेन। यदाकदा विराटनगर पुगेका बेला आमाका काखमा बसेर आमाबाट ‘मुनामदन’का कथा सुनेकै भरमा भावुक हुँदै आँसु झार्ने स्वभाव जानीजानी हुर्किएको थियो।
“तैपनि धरानमा म गीत गाउने गर्थे, कविता लेखेर सुनाउँथे। भरिया–ढाक्रेका अघिपछि तिनले गाउने लोकभाकामा रमाउँदै यताउति गर्थेँ,” कालीले सम्झिए, “जेनतेन २०१३ सालमा एसएलसी गरेपछि मैँले जेजसरी हुन्छ, काठमाडौँ आउन चाहेँ। किनभने काठमाडौँ भन्नासाथ एउटा सपनाको अद्भुत ठाउँ थियो, जहाँ बालकृष्ण सम, लेखनाथ, देवकोटा, सिद्धिचरण, व्यथित, माधव घिमिरेहरू बसेका छन्। त्यहाँ गए तिनलाई भेट्न पाइन्छ भन्ने मनमा हुटहुटी थियो।”
परिवारले कालीप्रसादलाई भने काशीबास बसेका आफन्तलाई सघाउन बनारस पठाउने निधो गरिसकेको थियो, तर उनले मानेनन्। नभन्दै काठमाडौँ उत्रिएपछि आफैँ खोजमेल गर्दै कहिले समको निवास त कहिले कवि सम्मेलनतिर धाउन थालेका रहेछन्। “मूलतः म कवि थिएँ। २०१६ सालमा आयोजित अन्तर कलेज कविता प्रतियोगितामा ‘ज्योति’ शीर्षक मेरो कविता प्रथम भएको थियो, जसको निर्णायक मण्डलीमा बालकृष्ण समसहितका अग्रज हुनुहुन्थ्यो”,उनी सम्झन्छन्, “अनि सुरु भएको काली कविको क्रेज अलग्गै थियो, मलाई कवि–लेखकमाझ घुलमिल हुन पनि अप्ठ्यारो परेन।”
यसरी काली आफ्नै धुनमा पढ्दै र कवि–लेखक हुलमाझ घुस्रिँदै पनि गए। जागिरमा पनि कहिले भूमिसुधार (पाल्पा), कहिले प्राध्यापन (धनकुटा डिग्री कलेज) र लोकसेवा आयोग हुँदै उनी सूचना विभागको निर्देशक (२०३२) बनेका थिए। “यही घडीदेखि म ब्युँतेको थिएँ, फेरि अर्कै नसोचेको दुनियाँमा पुगेको थिएँ”, उनले सम्झिए, “त्यहाँ एक दिन गायक नारायण गोपाल मलाई खोज्दै आएका रहेछन्। म आश्चर्यमा परेँ।”
विभागमा नयाँ निर्देशक आएको र चिनापर्ची गर्न भने पनि नारायण गोपाल खुबै पत्रपत्रिका वा पुस्तक पढ्ने खालका व्यक्ति रहेछन्। आफूले गाएका केही गीतको उदाहरण दिई ‘यसलाई अझ राम्रो कसरी बनाउन सकिन्थ्यो होला? तपाईँको राय सुनौँ न’ भन्दै श्रोता/पाठकको परख गर्न सिपालु नारायण गोपालले यही प्रश्न कालीप्रसादलाई गरेका रहेछन्।
अब के भन्ने र? तपाईँले गाएको ठीकै छ, राम्रो छ भनेर उम्कन चाहे उनी। तर, पार लागेन। “यो गीत अलिक गम्भीर रहेछ। यसलाई अलिक स्लो–रिदम दिन सके बेस हुन्थ्यो कि? अनि दुवै अन्तराको गीति भाव एउटै रहेछ आदि”, उनले हच्किँदै भनेछन्।
“ओहो, तपाई निकै जानकार हुनुहुँदो रहेछ। ल त, मैँले आउने सोमबारलाई रेडियो नेपालमा गीत रेकर्ड डेट पाएको छु। मलाई गीत चाहियो, लेखेर दिनुहोला”, झन्डै आदेशको स्वरमा नारायण गोपालले भनेछन्।
जेजति उम्कन खोजे पनि उपाय थिएन। अनि कालीले लेखेका रहेछन्—आँखा छोपी नरोऊ भनी र झरेको पातझैँ भयो उजाड मेरो जिन्दगी ! नभन्दै केही दिनमै यी गीतको संगीतबद्ध क्यासेट पनि आइहाल्यो। अचम्म, दुईमध्ये एक छानिएला वा एउटा रेकर्डमा जाला भनेको दुवै गीत साता दिनभित्रै रेकर्ड पनि भयो। “त्यसपछि केही सातामै रेडियो नेपालमा यी गीत यति प्रख्यात भए कि मेरा लागि पनि त्यो एउटा घटना बन्यो”, उनी सम्झन्छन्।
तर, दशा भने सकिएको रहेनछ। राजतन्त्रको राज चलेको बेला ‘मुटुमाथि ढुङ्गा राखी हाँसेको कुरा’ र ’झरेको पातझैँ भयो’ जस्ता गीतमा अर्थभन्दा बढी (व्यवस्थाविरोधी) ‘अनर्थ’ भेटिनु स्वाभाविक थियो। नभन्दै यी गीतमाथि दरबारमातहत जाँचबुझ चल्यो, जाँचबुझ केन्द्रमा रहेका साहित्यकार धुँस्वा सायमीले ‘धन्न, एक पटकलाई बाँच्यौ बाजे’ भन्दै सतर्क गराएका थिए।
सरकारी दानापानी खाएपछि खुलेर मनका गुम्फन उतार्न पनि मुस्किल थियो। भावनाको उदासी बन्न पनि नपाइने स्थिति थियो। अलिक पछि २०३८ सालतिर एक दिन संगीतज्ञ अम्बर गुरुङको अनुरोध आइपुगेछ, कालीकहाँ। प्रकाश थापाको निर्देशनमा बन्न लागेको ‘जीवन रेखा’ (२०३८, कथा: केशवराज पिंडाली) फिल्मका लागि त्यस्तै हारेको/थाकेको जीवनको मुद्रा झल्कने गीत लेख्नुपर्ने भो।
“एउटी घमन्डी, कसैलाई नसम्झने र कसैले मन नपराउने महिलाले नाउ खियाइरहेका बेला गाउने गीत भनेर मलाई लेख्न लगाए, माझीको बहाना चलिरहेको छ। अहँ, मैँले हार खाइनँ, अनि लेखेँ, “कहीँ आफ्नै भुमरीमा आफैँ पर्यौ कि/कहीँ आफ्नै आँखाबाट आफैँ झर्यौ कि?”
धन्न, यो गीत भने फिल्मभित्र थियो, त्यही भएर यसमा भने स्पष्टीकरण आएन। संगीतकर्मी आभासका बुझाइमा, नेपाली गीत—संगीतको जगतमा ‘कहीँ आफ्नै भुमरीमा आफैँ पर्यौ कि’ जस्तो सफल शब्द—संगीत ट्युनिङ र भावसमेत समातेको सिर्जना शायदै अर्को होला। जस्तो, पानीमा बहाना चलिरहेको भाव बुझाउन उपयोग भएको सन्तुरको ध्वनिले संगीतज्ञ अम्बरको ‘मौलिक ढब’ चिनाउने काम पनि गरेको छ। फेरि यो गीतको शब्द–संगीतको कमाल प्रभावका कारण अम्बर गुरुङले यो सिर्जना अरूलाई गाउनै दिएनन्, बरु आफैँले गाए, जुन कालजयी पनि बन्यो।
यो गीतको रचना र संगीत सार्वकालिकझैँ बन्यो। कतिसम्म भने ज्ञानेन्द्रले राज्यसत्ता ‘कु’ गरे पनि यही गीत आउँछ, संसद् विघटन भए पनि यही गीत वा प्रेम–वियोगका ठूला घटना आइपरे पनि यही भुमरी परिहाल्छ। “अहँ, यस्तो सार्वकालिक होला भन्ने थिएन। जीवनरेखा फिल्मका सजिला, युगल र राम्रा मानिएका गीतहरू भने अरूलाई लेख्न लगाइएको थियो, मलाई भने छानेर अप्ठ्यारो दिइएको थियो। तर पनि मैँले हार मानिनँ, जाँचमा पास भएँ”,कालीप्रसादले ती दिन सम्झिए।
“जसलाई तिमी हिरा भन्थ्यौ, काँच पो थियो कि राजै
ढुंगा भनी फालिदियौ, देवता थियो कि?
⁎
अब लागौँ पलेँटीतिर।
‘लौ न, मेरो गीत गाइदेऊ न’ भन्दै कुदाकुद गर्ने एउटा तह–तप्काभन्दा धेरै पर चाबहिल, चुच्चेपाटीभित्रको घरमा एकान्तमा रमाइरहेका भेटिन्छन् कालीप्रसाद रिजाल। सभा–समारोह र दोसल्ला–उत्सवमा पनि उनी त्यति देखा पर्दैनन्। आफूलाई चिनाउने र बचाउने गीतको यो हारमाझ कालीप्रसाद फेरि किन ‘पलेँटी’मा आए त?
“मैले यति कुरा भन्नैपर्छ—संगीतकार आभास हो मेरो माध्यम। म चाहन्छु, संगीतमा डुबेको व्यक्तिलाई साहित्य पनि थाहा होस्, साहित्यमा रमेकोलाई संगीत पनि थाहा होस्। यो दुर्लभ प्राय कुरा हो। नारायण गोपालमा त्यो विशेषता थियो,” कालीप्रसादले सुनाए, “आभास पनि भनिरहेका हुन्छन्, यो शब्दको साटो यसो गरौँ कि? यो रेन्जलाई यसरी उठाऊँ कि? यो कुरा मन मिल्दो भएरै म पलेँटीमा आएको हुँ।” (एक वर्षअघि रिजालको आत्मवृत्तान्त ‘काँडामा हाँसेको जिन्दगी’ प्रकाशन क्रममा ‘नेपालय’मा संक्षिप्त पलेँटी कार्यक्रम आयोजना भए पनि त्यो कालीप्रसाद रचना केन्द्रमा मात्रै थिएन। यस पटक कालीप्रसादका गीत–कवितासंग्रह ‘केही मीठो बात गर’ पनि पलेँटी अवसरमा प्रकाशित हुँदैछ।)
अहिले पनि आधा शताब्दी अघिको झरेको पातको दुःखान्त बिक्री भइरहेको र उहिलेकै कथानकमा सिर्जनशील नामकाम अडिएको बारे कालीप्रसाद ‘जानकार’ छन्। “तर, त्यसरी एकतर्फी भएर हेर्न चाहन्नँ। हिजोभन्दा गीतसंगीत ‘मास’मा गएको अवस्था छ। पहिलेभन्दा वाइड–सर्कल बनेको छ,” उनी भन्छन्, “तर, कतै आजको यो होडमा हामीले मौलिकता त बिर्सिएका छैनौँ भन्ने भएको छ। यो पनि हो कि गीत संगीतको सिर्जनामा आज बाहिरको प्रभाव बढी परेको छ, जति पहिले थिएन। पहिले भने आफ्नोपन (अपनत्व) र मौलिकता भन्ने चिज थियो, शब्द र संगीत दुवैमा। राम्रो अनि सोचनीय दुवै स्थिति छ आज।”
गायक आभासका अनुसार आफ्ना गीतको पहिलो सम्पादकसमेत कालीप्रसाद रिजाल स्वयं हुन्। गीतमा धुन भरेर वा सुरतालमा आफैँ गाउन सक्ने खुबी पनि छ कालीप्रसादमा। (यो अलौकिक र लुप्त खुबी कवि श्रवण मुकारुङमा पनि छ।) यो सहजपनाले पनि शब्द–संगीत र गायकीलाई जोड्न अझ मद्दत गरेको छ।
शायद आधा शताब्दी समयको हिसाब गर्ने हो भने रेडियो नेपाल, म्युजिक नेपाल वा अन्यत्र सबैभन्दा बढी फर्माइसमा बज्ने गीतमध्ये कालीप्रसाद–नारायण गोपालकै हुन सक्छ, हुनुपर्छ। यत्तिका गीत बजिरहँदा र नामकाम छाइरहे पनि आखिर कमाइ के भयो त? रोयल्टी समाजले रोयल्टी हिसाब गरेकै होला नि?
बातचितको अन्त्यमा नोकझोक टाइपको प्रश्न गर्न मन लाग्यो। तब कालीप्रसाद अझ गम्भीर भए र, जवाफ फर्काए, “खोइ थाहा छैन। मैले रेडियो वा अन्यत्रबाट आफ्ना गीत बजेबापत एक पैसा पनि पाएको छैन।”
यो प्रश्न बेकारमा खेर गएझैँ भएको छ। जस्तो कि, नामका कालीप्रसादलाई धरान–विराटनगरतिर छँदा धेरैले काले–काले भन्ने गरेका रहेछन्। अनि, काठमाडौँ आइछाड्ने तिर्सनाका पछाडि एउटा झिनो कारण पनि यसैले थपिएको रहेछ, जहाँ काठमाडौँको चिसो हावापानीका कारण आफ्नो कालो रूप कतै गोरो भइहाल्ला कि भन्ने थियो! अहँ, यसो हुन सकेन।
सरकारको निमित्त सचिवबाट निवृत्त भएका उनले सहसचिवसह सरकारी पेन्सनपट्टा पाउने गर्छन्। यसले जीवन धान्न केही सहज भएको छ। गीत–संगीत, गानाबजाना र नारायण गोपालसहितको नाम जोडिएर त कालीप्रसादको उही एउटा ‘नाम–पहिचान’ बनेको छ, यही काफी छ। हो पनि, कालीप्रसादको आफ्नै ढब छ, आफ्नै ‘पना’ र ‘पारा’ छ।
यस पटक आभासले संगीत भरेका कालीप्रसादका नयाँ गीतमा पनि त्यो ‘ढब’ छँदैछ, अलिकति निराशा र उदासी भरेर सधैँझैँ कालीप्रसाद भनिरहेका छन् :
‘किन होला यो सहरमा हराइरहन्छ मान्छे
मान्छेसित किन यहाँ डराइरहन्छ मान्छे’
⁎
‘सागरमा सुनामीको लहर उठेजस्तै
त्यस्तै छाल उठ्छ मेरो मनमा पनि त्यस्तै...’
त्यस्तै छाल उठ्छ मेरो मनमा पनि त्यस्तै...’
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
