जलवायु परिवर्तनको असरले विश्वभरका तालमा घट्दै अक्सिजनको स्तर

साइन्स एडभान्सेज जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनमा विश्वका ८३ प्रतिशत तालको सतहको पानीमा अक्सिजनको मात्रा घट्दै गइरहेको उल्लेख छ।

फाइल तस्वीर

जलवायु परिवर्तनको दीर्घकालीन असरअन्तर्गत तापक्रम वृद्धि र उष्ण लहरका कारण विश्वभरका तालमा अक्सिजनको स्तर घट्दो क्रममा रहेको एक अध्ययनले देखाएको छ। शनिबार प्रकाशित नयाँ अध्ययनअनुसार अनुसन्धाताहरूले विगत २० वर्षमा विश्वभरका १५ हजारभन्दा बढी तालमा अक्सिजनको मात्रा घट्दोक्रममा रहेको पत्ता लगाएका हुन्।

साइन्स एडभान्सेज जर्नलमा प्रकाशित सो अध्ययन प्रतिवेदनमा विश्वका ८३ प्रतिशत तालको सतहको पानीमा अक्सिजनको मात्रा घट्दै गएको जनाइएको छ। साथै, समुद्र र नदीको तुलनामा तालमा अक्सिजन घट्ने औसतदर बढी रहेको पनि अध्ययनले देखाएको छ।

अध्ययनले उष्ण लहरले अक्सिजनको कमीमा तीव्र र स्पष्ट प्रभाव पारेको देखाएको छ, जसले गर्दा औसत तापक्रमभन्दा कम अवस्थाको तुलनामा ७.७ प्रतिशतले कमी आएको छ।

प्रतिवेदन लेखकहरूले अक्सिजनको घुलनशीलता ५५ प्रतिशत घटाउनमा मुख्य कारक तत्त्व जलवायु परिवर्तन भएको बताएका छन्। तालहरूमा पोषक तत्त्वको बढ्दो युट्रोफिकेसनको मात्रा लगभग १० प्रतिशत रहेको जनाइएको छ।

लेखकहरूले यी निष्कर्षले ताजा पानीको इकोसिस्टममा जलवायु परिवर्तनको गहिरो प्रभावलाई रेखांकित गर्ने बताएका छन्। चाइनिज एकेडेमी अफ साइन्सेसको अनुसन्धानकर्ता झाङ युनलिनले भने, “अक्सिजनको कमीले प्रजातिहरू लोप हुन सक्छ। जलीय जीवको मृत्यु र व्यावसायिक माछा मार्ने उद्योग धराशायी हुन सक्छ।”

सह–लेखक शि कुनले तालहरूमा पोषक तत्त्वको मात्रा घटाउनमा ध्यान दिनुपर्ने बताए। “डुबेका वनस्पति रोपण र सिमसार निर्माण गर्नाले पनि तालको पारिस्थितिक प्रणाली पुनर्स्थापित गर्न मद्दत गर्न सक्छ,” शिले चिनियाँ समाचार संस्था सिन्ह्वालाई बताए।

प्रतिवेदनमा जलवायु परिवर्तन र उष्ण लहरका प्रमुख कारणहरूबारे कुनै विशेष सुझावहरू दिइएको छैन। चीनको नानजिङ विश्वविद्यालय र बेलायतको बाङ्गोर विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले पनि अध्ययनमा भाग लिएका थिए।