माङसेबुङका अन्न नउब्जिने भिरालो जमिनमा वनतरुलखेती

माङसेबुङ गाउँपालिका–६ स्थित हात्तीढुंगे टोलका १३ किसानले समूह गठन गरेर व्यावसायिक रूपमा वनतरुलखेती शुरू गरेका हुन्। उनीहरूले वार्षिक २५ हजार रुपैयाँ तिर्नेगरी जमिन भाडामा लिएका छन्।

फिक्कल– माङसेबुङ गाउँपालिका–६ स्थित हात्तीढुंगेको १४ रोपनी भिरालो जमिनमा वनतरुलको व्यावसायिक खेती थालिएको छ। हात्तीढुंगे टोलका १३ किसानले समूह गठन गरेर व्यावसायिक रूपमा वनतरुलखेती शुरू गरेका हुन्। 

समूहका अध्यक्ष प्रेमकुमार राईका अनुसार अन्न उब्जनी नहुने जमिन भाडामा लिएर वनतरुल लगाइएको हो। वार्षिक २५ हजार रुपैयाँ भाडा तिर्नेगरी जमिन भाडामा लिइएको छ। समूहलाई माङसेबुङ गाउँपालिकाले १ लाख रुपैयाँ सहयोग गरेको छ। माङसेबुङ गाउँपालिकाले परम्परागत कन्दमूलखेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत उक्त रकम उपलब्ध गराएको हो।

किसान समूहले वनतरुलसँगै गिठा र भ्याकुरको समेत खेती गर्दै थालेको छ। हाल बगानमा १६ हजार बोट वनतरुल, ४५० बोट भ्याकुर र १५० बोट गिठा हुर्काएको छ। तीन वर्षपछि मात्र तरुल उत्पादन हुने जनाइएको छ। खेती विस्तारका लागि बीउ जंगलबाट नै संकलन हुने गरेको छ।

गहिरो खाल्डो खनेर प्रशस्त मल राखेर एकपटक बीउ रोपेपछि पटक–पटक रेखदेख गर्नु नपर्ने भएकाले तरुलखेती  अन्य खेतीभन्दा सजिलो भएको उनले बताए।