५ दिनदेखि बेपत्ता भारतीय नागरिकको कालीगण्डकीमा शव फेला

कालीगण्डकी नदीमा नुहाउने क्रममा बेपत्ता भएका एक भारतीय नागरिकको शव पाँच दिनपछि फेला परेको छ।

पाल्पा– बेपत्ता भएको पाँच दिनमा एक भारतीय नागरिकको कालीगण्डकी नदीमा मृत फेला परेको छ।

पाल्पाको बगनासकाली गाउँपालिका–५, राम्दीस्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा बेपत्ता भएका भारतको उत्तर प्रदेशको गोरखपुरका २५ वर्षीय शिवम् पाण्डेयको आइतबार शव भेटिएको हो।

गत बुधबार दिउँसो नुहाउने क्रममा पाण्डेय बेपत्ता भएका थिए। उनको शव राम्दी घाटदेखि झन्डै एक किलोमिटर टाढा बग्दै गरेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए।

पोखराबाट घुमेर घर फर्किने क्रममा पाण्डेसहित चार जना कालीगण्डकीमा नुहाउन गएका थिए। सो क्रममा पाण्डेय डुबेर बेपत्ता भएको प्रहरी नायब उपरीक्षक मल्लले बताए।